• ९ असार २०८१, आइतबार

पार्टीका विभागलाई पूर्णता दिन सभापति देउवासँग आग्रह

blog

सभापति देउवा, महामन्त्री थापा र शर्मा

गोरखापत्र अनलाइन 

काठमाडौं, असार ६ गते । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भेट गरी पार्टीका विभागलाई पूर्णता दिन आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा महामन्त्रीद्वयले विधानमा उल्लेख भए अनुसार पार्टीका विभागलाई पूर्णता दिन, रेमार्गमा पर्ने जग्गाको मुअब्जा उपलब्ध गराउन, शेयर मार्केटमा आएको मन्दीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको हो । उहाँहरूले अमेरिकी सरकारको स्टेट पार्टनरसीप प्रोग्राग (एसपीपी) कुनै पनि हालतमा सम्झौता नगर्न पनि प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार, पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सार्वसाधारणमा पर्ने असरका विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । 

“एसपिपी सम्बन्धमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पुरायाएर सहभागी नहुन आग्रह गर्‍यौँ, विदेश नीतिको अन्य सन्दर्भमा पनि प्रमुख प्रतिपक्षीलगायत सबै राजनीतिक दललाई बोलाएर साझा धारणा तय गरौँ भन्ने कुरा प्रधानमन्त्रीज्यू समक्ष राख्यौँ”, महामन्त्री शर्माले भन्नुभयो ।

महामन्त्रीद्वयले लामो समयदेखि पार्टीको भ्रातृ एवं शुभेच्छुक संस्थाको अधिवेशन नभएको भन्दै चाँडो अधिवेशन गर्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको थियो । “छ महिनाभित्र सम्पन्न गर्ने भनिएको भ्रातृ संस्थाको अधिवेशनको बारेमा पनि हामीले सभापतिज्यूको ध्यानाकर्षण गरायौँ”, महामन्त्री शर्माले भन्नुभयो । यसबाहेक नीति महाधिवेशन, केन्द्रीय समितिको बैठक, विभाग गठनलगायतको विषयमा छलफल भएको महामन्त्री शर्माले बताउनुभयो ।

विभागलाई पूर्णता दिन निर्देशन 

सभापति देउवाले पार्टीका उपसभापति र महामन्त्रीलाई बोलाएर विभागलाई तुरुन्त पूर्णता दिन तयारी गर्न निर्देशन दिनुभएको जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो । 

यस अवधिमा स्थानीय तह निर्वाचनको तयारी गर्नु परेको र निर्वाचनका कारण नेताहरू जिल्ला जिल्लामा जानु परेकाले विभाग गठन गर्न ढिलाइ भएको मुख्य सचिव पौडेलको भनाइ छ । 

काँग्रेसको विधान अनुसार, महाधिवेशन भएको छ महिनाभित्र पार्टीका विभागलाई पूर्णता दिने व्यवस्था छ तर महाधिवेशन भएको सात महिना पुगिसक्दा पनि पूर्णता पाएको छैन । काँग्रेसले ४८ वटा विभाग गठन गर्नुपर्ने हुन्छ । सभापति देउवाले २०७८ पुस १० गते सो पदको शपथ लिनुभएको थियो ।