फडिन्द्र अधिकारी
लेखनाथ, साउन ५ गते । मध्य राति अर्काको घरमा पसेर १२ लाख रुपियाँ चोरी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले कास्कीको माछापुच्छरे गाउँपालिका–९ का २३ वर्षीय ओमबहादुर भुजेललाई आइतबार राति साढे १० बजे पोखरा–६, डिहिकोपाटनबाट पक्राउ गरेको हो ।
भुजेललाई सोमबार कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थपगरी चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
भुजेलले शुक्रबार मालेपाटनस्थित दाङ भ्याली फ्रेस हाउसका सञ्चालक सङ्गिता भण्डारीको कोठामा भएको रकम चोरेको प्रहरीको आरोप छ । राति साढे ११ बजे दराजमा राखिएको नगद १२ लाख ३० हजार चोरी भएको भण्डारीले प्रहरीलाई जानकारी दिनुभएको थियो ।
जानकारी प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चोरीको नगद रकममध्ये नौ लाख ९७ हजार पाँच सय र २ मोबाइलसहित भुजेललाई नियन्त्रणमा लिएको जनाएको छ ।