काठमाडौँ, साउन ५ गते । नेपालमा चर्चित रक्षक रोहित चन्द जापानी स्टार फुटबलर केइसुके होन्डाको नेतृत्वमा सुरु गरिएको नयाँ पहल एसिया वारियर्स एफसी टोलीमा समावेश हुनुभएको छ ।
यसै वर्ष सुरु भएको एसिया वारियर्स एफसीले एसियाका प्रख्यात फुटबल खेलाडीहरूलाई एकताबद्ध गर्ने लक्ष्य राखेको छ ।
एसिया वारियर्स एफसी जापानी स्टार होन्डा र फिलिपिनका एन्टोन डेल रोजारियोको संयुक्त परियोजना हो । यस परियोजनाले फुटबलमार्फत शान्ति, आशा र सहकार्य प्रवर्धन गर्ने लक्ष्य लिएको छ ।
परियोजनाअन्तर्गत टोलीले दुई वटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ। पहिलो खेल जुलाई २० मा ब्राविजाया स्टेडियममा पर्सिक केदीरीविरुद्ध भइसकेको छ ।
उक्त खेलमा एसिया वारियर्स २–० गोलले पराजित भएको थियो । दोस्रो खेल जुलाई २७ मा मलेसियाको पेटालिङ जायामा सेलंङ्गोर एफसीसँग खेल्ने छ ।