• ५ साउन २०८२, सोमबार

चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

blog

बेइजिङ, साउन ५ गते । चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआइसी)ले सोमबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२५ जुनसम्म चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरू थिए । सन् २०२५ जुनसम्ममा चीनमा इन्टरनेट पहुँच ७९ दशमलव सात प्रतिशत पुगेको छ । यो सन् २०२४ डिसेम्बरको तुलनामा एक दशमलव एक प्रतिशत बिन्दुले वृद्धि भएको हो ।

प्रतिवेदनअनुसार १४औँ पञ्चवर्षीय योजना अवधि (२०२१-२०२५) मा चीनले इन्टरनेट विकासमा उल्लेखनीय प्रगति गरेको छ । विशेष गरी, इन्टरनेटलाई थप समावेशी बनाउने प्रयासहरूले वृद्ध र ग्रामीण बासिन्दाहरू जस्ता प्रमुख समूहहरूलाई यस प्रगतिको फाइदामा साझेदारी गर्न अनुमति दिएको छ । सन् २०२५ जुनसम्ममा चीनमा ६० वर्ष वा सोभन्दा माथिका १६ करोड १० लाख इन्टरनेट प्रयोगकर्ता थिए र ३२ करोड २० लाख ग्रामीण क्षेत्रमा बसोबास गर्थे । 

यी समूहहरूमा इन्टरनेट पहुँच क्रमश : ५२ प्रतिशत र ६९ दशमलव दुई प्रतिशत पुगेको छ । यसैबिच, चीनमा इन्टरनेटको निरन्तर विकासले चिनियाँ संस्कृतिलाई घरेलु र अन्तर्राष्ट्रिय रूपमा प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको चिनियाँ अनलाइन साहित्य र खेलहरूको बढ्दो निर्यातका साथै लोकप्रिय वेब सिरिज र सम्बन्धित पर्यटन गन्तव्यहरू बीचको बढ्दो तालमेलको उदाहरण दिँदै प्रतिवेदनमा भनिएको छ । रासस/सिन्ह्वा