काठमाडौँ, साउन ५ गते । साउन महिनाको पहिलो सोमबार । प्रायः महिलालाई काँचका हरिया चुरामा सजिएको देख्न सकिन्छ । साउनको सुरुवातसँगै हिन्दु महिलामा छुट्टै उत्साह र उमङ्ग छाएको छ । मेहदी र हरियो चुरा लगाउनेको ‘क्रेज’ यतिबेला बढ्दै गएको छ ।
धार्मिक मान्यता अनुसार साउनको सोमबार भगवान् शिवजीको व्रत र पूजा गर्ने चलन छ । यद्यपि यस महिनाका सबै दिनलाई उत्तिकै महत्वका साथ लिइन्छ । साउन महिनाको सोमबार शिवको प्रिय दिन हो । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुले रातो, हरियो र पहेँलो वस्त्र तथा चुरापोते लगाएर शिवको पूजा गर्ने परम्परा छ । यस वर्ष महिलामा झन् बेग्लै उत्सुकता देखिएको छ । समाज जतिसुकै आधुनिक भए पनि आफ्नो संस्कृति र सामाजिक रीतिरिवाजलाई चटक्कै भुल्न भने कहिले सक्दैनन् ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः का अनुसार “साउन महिना भनेको वातावरण नै हरियो परियो देखिने उत्सव हो । जता हेरे पनि हरियो नै हरियो हुन्छ,” उहाँले भन्नुभयो । साउन महिनामा खास गरेर महिलाले हरियो धेरै लगाउन रुचाउँछन् । पृथ्वी माता हो । त्यसैले महिलालाई प्रश्रय दिइएको उहाँले बताउनुभयो । महिलाले हरियो सारी, चुरा, टीका, माला सबै हरियो लगाउनुका कारण पनि यही रहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “वातावारण र प्रकृतिसँग मिल्ने भएकाले हरियो रङलाई छानिएको हुनु पर्छ । जस्तो प्रकृति त्यस्तै किसिमको हाम्रो जीवन भएकाले पनि यसलाई पर्वका रूपमा मनाउने गरिएको उहाँले बताउनुभयो ।” अहिले महेदी, चुरा लगाउनु फेसनभन्दा परिवर्तित समयको माग हुन सक्ने उहाँले बताउनुभयो ।
निर्देशक तथा अभिनेतृ दीपाश्री निरौलाले साउने सोमबारलाई शिवको महिमाका रूपमा लिएर पुज्ने चलन राम्रो भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सोमबार हरियो नै लगाउनु पर्छ भन्ने पनि छैन । यो एउटा विश्वास र सोचको कुरा हो । मुख्य कुरा भनेको हामीले चाडपर्व कसरी मनाउँछौँ भन्ने हो । हरियो लगाएर भोकभोकै बसेर भगवान् खुसी हुन्छन् भन्ने पनि होइन । ”
गायिका अनुष्का पाठक दसैँतिहार, तिज आदिमा जस्तै साउने सोमबार पनि उत्तिकै श्रद्धापूर्वक मनाउने गरेको बताउनुहुन्छ तर व्रत बस्ने गरेकी छु । साउन महिना सुन्दर र रमाइलो हुने हुनाले यो समय उत्सवमय लाग्ने पाठकले बताउनुभयो । साउनको सोमबारभरि चोखो बसी व्रत बस्ने र चोखो खाने चलन छ । साउनभरि हरियो, पहेँलो, रातो रङका पहिरन, चुरा, पोते, नेलपोलिस, मेहदी आदि लगाई सोह्र शृङ्गारमा सजिएर उपासना गर्ने चलन छ । कतिपयले देवी सतीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रङको महìव बढेको हो ।
साउने सोमबारका दिन मन्दिर, नदी किनारमा गई जल, बेलपत्र, दुध, फलफूल आदि शिवलिङ्गमा चढाउने चलन छ । यो महिना भगवान् शिवलाई खुसी पार्न सके अविवाहित महिलाले भने जस्तै पति पाउने जनविश्वास छ । विवाहित महिलाको परिवारमा सुख, शान्ति र श्रीमान्सँगको जीवन सुखमय हुने विश्वास भएकाले पनि साउन सोमबारलाई विशेष दिनका रूपमा पनि लिइन्छ ।