• ५ साउन २०८२, सोमबार

योगदानमा आधारित निवृत्तिभरण कोषमा चार हजार कार्यालय तथा संस्था आबद्ध

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ५ गते । कर्मचारी सञ्चय कोषबाट सञ्चालित योगदानमा आधारित निवृत्तिभरण कोषमा करिब चार हजार २९० कार्यालय तथा संस्था आबद्ध भएका छन् । योगदानमा आधारित निवृत्तिभरण कोषमा आबद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाका सङ्ख्या उल्लेख्य रूपले बढ्दै गएको कोषले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्था गरी करिब चार हजार २९० कार्यालय तथा संस्था योगदानमा आधारित निवृत्तिभरण आबद्ध भएको कोषले जनाएको छ । कोषमा आबद्ध भएका कार्यालय तथा संस्थाका करिब ९९ हजार ३९१ जना योगदानकर्ताबाट गत आवको अन्त्यसम्ममा करिब १५ अर्ब रुपियाँ योगदानमा आधारित निवृत्तिभरण कोषमा जम्मा भएको कोषले जनाएको छ । सामाजिक सुरक्षा सुविधाअन्तर्गत योगदानकर्तालाई दुर्घटना क्षतिपूर्ति दुई लाखसम्म, काजकिरिया अनुदान ४० हजार रुपियाँ, प्रसूति सुविधा अन्तर्गत प्रतिप्रसूति सात हजार पाँच सय तथा स्वास्थ्योपचारतर्फ साधारण रोगमा एक लाखसम्म र कडा रोगमा १० लाखसम्म सुविधा प्रदान गर्दै आएको कोषले जनाएको छ ।