• ५ साउन २०८२, सोमबार

बारीमै कुहिन थाल्यो आलु

blog

पुर्चौडी नगरपालिका–६ का किसानले फलाएको आलुले बजार नपाउँदा बारीमै कुहिँदै । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, साउन ५ गते । आलुले उचित मूल्य र बजार नपाएपछि भूमिराजको रुइसेनी र धारुडीगाउँका किसानले फलााएको चार सय क्विन्टलभन्दा बढी आलु बारीमै कुहिन थालेको छ । जिल्लाको पुर्चौडी नगरपालिका–६, भूमिराजगाउँका ८० परिवार किसानले फलाएको रातो र सेतो आलु बिक्री नहुँदा गोठमा थन्क्याएर राखिएको छ । 

कतिपय किसानको आलु त बारीमै कुहिन थालेको स्थानीय किसान तेजबहादुर विष्टले बताउनुभयो । उहाँले गाउँको स्थानीय बजारमा प्रतिकिलो २० रुपियाँमा पनि आलु बिक्री नभएको बताउनुभयो । आलु बैतडीकै मुख्य बजारसम्म पु¥याउन ग्रामीण सडक बर्खामा अवरुद्ध भएको उहाँले बताउनुभयो । स्थानीय सरकारले अवरुद्ध भएको ग्रामीण सडक सफा गरिदिए बैतडी–बझाङ जोड्ने जयपृथ्वी मार्गको बित्थड पु¥याएर जिल्लाबाहिर बिक्री गर्न सकिने सम्भावना रहेको किसानले बताएका छन् । यद्यपि स्थानीय सरकारले ग्रमीण सडक खुलाउन कुनै चासो नदिएको किसानको गुनासो छ । 

भूमिराजको रुइसेनी र धारुडीगाउँका किसान व्यावसायिक आलु खेतीमा लागे पनि उत्पादित आलु बारीमै कुहिन थालेपछि ठुलो घाटा बेहोर्नु परेको रुइसेनीगाउँका अगुवा किसान ध्वजबहादुर विष्टले बताउनुभयो । खच्चडमै भए पनि बजारसम्म आलु ढुवानीको व्यवस्था मिलाइदिन अर्का किसान रणबहादुर विष्टले माग गर्नुभयो । 

बर्खे सिजनमा यहाँका किसान परम्परागत खेतीका रूपमा मकै लगाउँदै आए पनि पछिल्लो समय आलु खेती गर्दै आएका छन् । हिउँदमा समस्या नभए पनि हरे वर्ष बर्खामा ग्रामीण सडक अवरुद्ध हुँदा आलुले बजार नपाउँदा निराश भएको मानबहादुर विष्टले बताउनुभयो । स्थानीय सरकार गठन भई नगरपालिका बनेको आठ वर्ष बितिसक्दा पनि गाउँमा अहिलेसम्म गतिलो सडक, बाटोघाटो र बिजुलीबत्ती नपुगेको स्थानीय युवा तेजबहादुर विष्टले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “किसानको गुनासो लगेर नगरपालिका धाए पनि कुनै सुनुवाइ भएन ।”

किसानले उत्पादन गरेको आलु बजारसम्म कसरी पु¥याउन सकिन्छ भन्नेबारेमा छलफल भइरहेको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “नगरपालिका जोड्ने मुख्य हाट सडकखण्ड सुचारु गरिए पनि वडाका ग्रामीण सडक पानी परेका बेला सफा गर्न सम्भव हुन सकेको छैन । तैपनि किसानको आलु बजारसम्म पु¥याउने विषयमा छलफल गरेर टुङ्गो लगाउँछौँ ।” बैतडीमा रातो र सेतो गरी आठ सय हेक्टरमा आलु खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयो । उहाँले यस वर्ष समयमै पानी परेकाले आलु उत्पादन राम्रो भए पनि केही ठाउँमा ग्रामीण सडक अवरुद्ध हुँदा बजारसम्म पु¥याउन किसानलाई समस्या भएको बताउनुभयो ।