• १२ असोज २०८१, शनिबार

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई निर्देश

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार ६ गते । प्रतिनिधिसभाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई निर्देश गरेको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)का सांसद पद्मा अर्यालले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने माग गर्नुभएपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई जवाफ दिन निर्देश गर्नुभएको हो ।

सांसद अर्यालले भन्नुभयो, ‘‘मूल्यवृद्धि गरेर जनतालाई आहत बनाइएको छ । जनताको जीवन कष्टकर बनाइएको छ । एमाले टुलुटुलु हेरेर बस्न सक्दैन ।’’


यति छोटो समयमा किन यति धेरै मूल्यवृद्धि गर्ने अवस्था किन आइलाग्यो ? उहाँले प्रश्न गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘‘मूल्यवृद्धि किन बढाइयो भन्ने विषयमा मन्त्रीले जवाफ दिनुपर्छ । मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न सक्दैन । आज नै जवाफ दिन मन्त्रीलाई रुलिङ गर्नको निम्ति माग गर्दछु ।’’

त्यसपछि सभामुख सापकोटाले मूल्यवृद्धिमा ध्यानाकर्षण भएको बताउनुभयो ।

‘‘माननीय सदस्यहरुले उठाउनुभएको विषय (पेट्रोलियम पदार्थको मूल्यवृद्धि)मा मेरो पनि ध्यानाकर्षण भएको छ ।,’’ सभामुख सापकोटाले भन्नुभयो, ‘‘सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु । यस विषयमा सरकारलाई सत्यतथ्य सदनसमक्ष पेश गर्न निर्देश गर्दछु ।’’