• ५ साउन २०८२, सोमबार

घटे विदेशी पाहुना

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ५ गते ।  सन् २०२५ को पहिलो छ महिनामा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या घटेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को जनवरीदेखि जुनसम्म पाँच लाख ८३ हजार ११ जना पर्यटक नेपाल भित्रिएकोमा यो वर्षको सोही अवधिमा पाँच लाख ७७ हजार ६८९ पर्यटक नेपाल भित्रिएका छन् । 

कोरोना महामारीअघि सन् २०१९ को छ महिनामा पाँच लाख ७३ हजार पर्यटकको नेपाल आगमन भएको थियो । बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “यो वर्षको समग्र तथ्याङ्कले चिनियाँ र भारतीय पर्यटकको आगमन कम भएको देखाएको छ । यस वर्ष बोर्डले समयमै बजेट पारित गरिसकेकोले मुख्य स्रोत बजारबाट आउने पर्यटकको सङ्ख्या बढाउन विभिन्न प्रवर्धनका कार्यव्रmममा जोड दिँदै छौँ ।”

आर्थिक वर्ष २०८२/८३ को बजेटले भारतबाट आउने पर्यटकले ल्याउन पाउने भारतीय रुपियाँको दर २५ हजारबाट बढाएर पाँच हजार डलरको व्यवस्था गरेपछि पर्यटन बजारमा यसको सकारात्मक प्रभाव देखिने उहाँको विश्वास छ । 

बजेटमा आएको विषय कार्यान्वयनले भारतीय पर्यटकले ल्याउने पैसाको सीमा बढ्ने र पाहुनाको बसाइ अवधि र खर्च गर्ने सीमासमेत बढ्ने उहाँ बताउनुहुन्छ ।

बोर्डका अनुसार सन् २०२५ को जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ६८७, अप्रिलमा एक लाख १६ हजार ४९०, मे मा ८६ हजार २१६ र जुनमा ७६ हजार ४२४ पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ । नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतीय, अमेरिकी र तेस्रोमा चिनियाँ नागरिक छन् ।