• १६ भदौ २०८१, आइतबार

जीवनलाई शान्त र फलदायी बनाउन योग प्रभावकारी : गृहमन्त्री खाण

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार ६ गते । गृहमन्त्री बालकृष्ण खाणले शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न, जीवनलाई शान्त, फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकरी सिद्ध भएको बताउनुभएको छ । आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री खाणले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो भनाइ राख्नुभएको हो ।

गृहमन्त्री खाणले  मानवताका लागि योग भन्ने नारालाई आत्मसात् गरी कुनै पनि द्वेषभाव र मनमुटाव नराखी एक आपसमा सदभाव, सौहार्दता, मेलमिलाप र हार्दिकताको सम्बन्ध कायम गरी पवित्र मनोभावका साथ समाज र राष्ट्रको हित र विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताउनुभयो ।


साथै उहाँले योग र प्रणायामको नियमित अभ्यासले मानव शरीर र मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकास गर्ने चर्चा गर्नुभयो । गृहमन्त्री खाणले समाजमा हुने विभिन्न प्रकारका घटना, दुर्घटना र अपराधको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी समाज र नागरिकलाई सुरक्षित राख्ने जटिल प्रकृतिको जिम्मेवारी वहन गर्ने सन्दर्भमा प्रहरी कर्मचारीको तनाव व्यवस्थापनमा योग अभ्यासको अधिक महत्व रहने विचार व्यक्त गर्नुभयो ।

योग अभ्यासलाई प्रशिक्षणमा सीमित नराखी आफ्नो व्यक्तिगत एवाम् व्यावसायिक जीवनमा समेत नियमित अभ्यास गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, योग एवम् आसन, प्राणायाम मात्र होइन, एक अनुशासित जीवनशैली पनि हो ।’

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नियमित योग अभ्यासले शरीर र मस्तिष्कलाई चुस्त, स्फूर्त राखी मानसिक तथा शारीरिक विकारहरूबाट मुक्ति दिलाउन मद्दत गर्ने बताउनुभयो । योग गर्ने व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सकारात्मक सोँचले रिस द्वेष, बदलाको भावनालाई समेत कम गर्छ, जसले समाजमा शान्ति र समृद्धि ल्याउन मद्दत गर्छ ।’ 

‘मानवताका लागि योग भन्ने नाराका साथ जुन २१ मा विश्वभर आठौं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा योगको बारेमा चेतना अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिन्छ ।