• ४ साउन २०८२, आइतबार

ताप्लेजुङमा ४२ प्रतिशत रोपाइँ सम्पन्न

blog

धान रोपाइँ गर्दै सिरिजङ्घा गाउँपालिका–३, सिकैँचाका किसान। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ४ गते। ताप्लेजुङमा हालसम्म करिब ४२ प्रतिशत धान रोपाइँ सकिएको छ। कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार आइतबारसम्ममा कुल ४२.७३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको हो।

ताप्लेजुङमा जेठ महिनाको दोस्रो सातादेखि नै धान खेती (रोपाइँ) गर्न सुरु गरिन्छ। जेठ महिनादेखि नै रोपाइँ सुरु भए पनि यसवर्ष पर्याप्त वर्षा नहुँदा हालसम्म तुलानात्मक रूपमा झण्डै आधाले कम मात्र रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र ताप्लेजुङका सूचना अधिकारी एवम् बाली संरक्षण अधिकृत शशीकुमार सिंहका अनुसार गतवर्ष हाल सम्ममा करिब ७२ प्रतिशत रोपाइँ भइसकेको थियो। 

बाली संरक्षण अधिकृत सिंहले यसवर्ष पर्याप्त वर्षा नभएपछि सिँचाइ अभावका कारण रोपाइँ गर्नमा समस्या रहेको बताउनुभयो। उहाँका अनुसार प्राय, वर्षा निरन्तर भइरहे पनि रोपाइँ गर्ने गरी पानी नपरेको वा सिँचाइको कुलो चलाउने गरी पानीको मुल फुट्न सकेको छैन। जिल्लाको अधिकांस क्षेत्रमा आकाशे पानीकै भरमा धान खेती हुने भएकाले पानीको मुल फुट्ने गरी वर्षा नभएसम्म अझै रोपाइँ गर्ने स्थिति नरहेको उहाँको भनाइ छ।

यता हालसम्म पर्याप्त वर्षा नभएपछि रोपाइँ नहुनेभन्दै किसान चिन्तित बन्न थालेका छन्। अहिलेसम्म रोपाइँ नभएको जिल्लाको माथिल्लो भेगमा अब धान खेती गर्नलाई पछुवा (ढिलो) हुने स्थानीय किसान बताउँछन्। किसानका अनुसार तल्लो औल क्षेत्रमा भने साउन १५ सम्म रोपाइँ गर्न पाए राम्ररी नै धान फल्ने छ। अहिलेसम्म पानीको मुल फुट्ने (पलाउने) गरी वर्षा हुन नसकेकाले किसानलाई चिन्तित बनाएको फुङ्लिङ नगरपालिका–९, हाङ्देवाका किसान घनश्याम पोखरेलले बताउनुभयो। 

किसान पोखरेलका अनुसार हिजोआज नै वर्षा भएर पानीको मुल फुटेमा औल तथा तल्लो बेँसी क्षेत्रमा साउन १५ गतेसम्म करिब रोपाइँ सकिने छ। औल क्षेत्रमा भने साउन १५ पछि केही भागमा धान खेती गर्न बाँकी रहे साउन मसान्तसम्म नै रोपाइँ गर्न सकिने उहाँले बताउनुभयो। उहाँका अनुसार वर्षा भए पनि जिल्लाको लेक क्षेत्रमा भने अब रोपाइँ नहुने अर्थात् ढिलो भइसकेको छ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लाको कुल खेतजीयोग्य जमिन २७ हजार ५५१ हेक्टर क्षेत्रफलमध्ये पाँच हजार ६६६.३२ प्रतिशतमा धान खेती गर्ने गरिन्छ। जिल्लाका किसानले बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने जातको धान खेती लगाउने गरेका छन्। यस्तै सुख्खा–१, खुमल–४ जस्ता केही उन्नत जातको धान खेतीसमेत किसानले लगाउने गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ।