राधा लुइटेल
फिदिम, साउन ४ गते। बाढी र पहिरोका कारण तमोर काेरिडोर, मेची राजमार्ग र मध्यपहाडी राजमार्गसहित मुख्य सडक अवरुद्ध भएका छन्।
लगातारको वर्षासँगै आएको बाढीका कारण मेची राजमार्गको पाँचथर स्थित हेवा खोला, मध्य पहाडी राजमार्गको रिजाल भिर र दोभानेखोला, तमोर करिडोरको नावा खोला खण्डबाट बिहानैदेखि सवारी र ढुवानी वारपार हुन सकेका छैनन् भने राँके रवि भेडेटार र फिदिम फालाैट जस्ता मुख्य सडकमा आवागमन बन्द भएको छ ।
शनिबार साँझदेखि भइरहेको अविरल वर्षाका मेची राजमार्गको हेवा खोलामा आएको बाढीले डाइभर्सनको तह पार गर्दा राजमार्ग मध्यरातदेखि अवरुद्व भएको छ।
यस्तै तमोर काेरिडोरमा पर्ने पाँचथर र धनकुटाको सिमावर्ती नावा खोलामा आएको बाढीका कारण यो सडक अवरुद्व भएको छ। राँके रवि छ नम्बर बुधबारे हुँदै धनुटाको भेडेटार जोड्ने सडक पनि बन्द भएको छ। मध्य पहाडी राजमार्गको पाँचथर खण्ड अन्तर्गत रिजाल भिरमा पहिरो जाँदा यो सडक अवरुद्व भएको छ।
राजमार्गको दोभाने खोलाको डाइभर्सनमा पनि बाढीले क्षति पुर्याएको छ फिदिम फालौट खण्डमा पर्ने फेमे खोला र मुवा खोलाका डाइभर्सन बाढीले पुरेको छ।
सवारी र ढुवानीका साधन नचल्दा सबैभन्दा धेरै समस्या बिरामी ज्येष्ठ नागरिक र गर्भवती भएका छन्। भारी वर्षा भइरहेको समयमा सचेत हुँना जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना मार्फत सर्वसाधारणलाई आह्वान गरेको छ।