चन्द्र पन्दाक
ताप्लेजुङ, साउन ४ गते । ताप्लेजुङमा मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरिएको छ । जिल्लामा साहित्य क्षेत्रमा कलम चलाउँदै आएका साहित्यकारहरुको जिल्ला भेलाले मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरेको हो ।
सदरमुकाम फुङ्लिङमा आइतबार पत्रकार सम्मेलन गरी जिल्ला भेलाबाट मनिष हेल्लोक अध्यक्ष रहेको २९ सदस्यीय प्रतिष्ठानको कार्यसमिति चयन गरिएको जनाइएको छ । प्रतिष्ठान कार्यसमिति उपाध्यक्षहरुमा मणि सेम्बु, नवराज आचार्य र मुक्साम लाबुङ, महासचिवमा पोमु केत्छाङ, सीता ‘पिरती’ साँवा, सचिव देवानसिंह मादेन, सहसचिव केवी किराती र कोषाध्यक्षमा लीला ‘आँसु’ सुनुवार चयन हुनुभएको छ ।
यता मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन भएसँगै साहित्यिक समावेशी र संरक्षण, साहित्यिक कार्यक्रम र प्रशिक्षण तथा मुक्कुमलुङ साहित्य सम्मानको स्थापनाजस्ता तीन वटा योजनालाई कार्यान्वयनमा लैजाने प्रतिष्ठानले आफ्नो कार्ययोजनासमेत सार्वजनिक गरेको छ । प्रतिष्ठानले अघि सारेको उक्त तीनवटा योजनालाई तत्काल कार्यान्वयनमा लैजाने तयारी गरिएको नवगठित कार्यसमितिका अध्यक्ष हेल्लोकले बताउनुभयो ।
यस्तै अन्य जिल्ला र विदेशमा समेत प्रतिष्ठानको शाखा र उपशाखा गठन गर्ने योजना रहेको अध्यक्ष हेल्लोकले बताउनुभयो । प्रतिष्ठानले संस्थागत कार्ययोजनासँगै गाउँबस्ती तथा कुनाकन्दरामा रहेका साहित्यानुरागीलाई समेटेर अघि बढ्ने पनि उहाँको भनाइ छ । साहित्य लेखनसँगै विभिन्न संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्धनको कामसमेत गर्ने प्रतिष्ठानले जनाएको छ ।