• ४ साउन २०८२, आइतबार

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा आठ टोली सहभागी हुने

blog

पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराउँदै समितिका पदाधिकारी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ४ गते । ताप्लेजुङमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । 

लाखेजात्रा पर्वको अवसरमा आउँदो साउन २४ देखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाहिरको एकसहित आठ टोली सहभागी हुने भएका हुन् ।

आयोजक लाखेजात्रा सञ्चालन समितिले आइतबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मलेन गर्दै प्रतियोगितामा सहभागी हुने टोलीको विवरण सार्वजनिक गरेको हो । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगितमा सहभागी टोलीमा फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडस्टार फुटबल क्लब झापा सहभागी हुनेछन् । 

यस्तै, द योङ ब्रदर्स क्लब इटहरी सुनसरी, सहलेस युवा क्लब सिराहा, चर्च ब्वाइज क्लब काठमाडौं, सहारा क्लब पोखरा, आयोजक तेल्लोक स्पोर्टिङ क्लब र नेपाल बाहिरको लेजण्ड फुटबल एकेडेमी सिलिगुढी भारत सहभागी हुने भएका छन् । यस वर्ष गोल्डकप विजेताले सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ पुरस्कार राशि पाउने शेर्पाले बताउनुभयो ।

यसैगरी प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीले २० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकसहित विभिन्न विधामा छनोट हुने खेलाडीलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । 

यता प्रतियोगितामा खेल हेर्न दर्शकका लागि प्रवेश शुल्क (टिकट दर) पनि निर्धारण गरिएको शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको क्वार्टर फाइनल चरणका लागि टिकद दर १०० रुपियाँ, सेमिफाइनलका लागि २०० रुपियाँ र फाइनल खेल हेर्न टिकट दर २५० रुपियाँ निर्धारण गरिएको छ । प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।