• ४ साउन २०८२, आइतबार

सवारी साधन कारबाहीबाट आठ लाख राजस्व सङ्कलन

blog

जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङ । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू 

फुङ्लिङ, असार ४ गते । ताप्लेजुङमा एक वर्षको अवधिमा एक हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा एक हजार ५७ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।  

जसमा ३० वटा टिप्पर, दुई वटा बस, तीन सय ७५ वटा कार, जिप र भ्यान कारबाहीमा परेका छन् । यस्तै, एकसय सातवटा ट्रयाक्टर, चार सय ८२ वटा मोटरसाइकल, ५० वटा टेम्पो र अन्य ११ वटा सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (प्रहरी सहायक निरीक्षक) सुमन अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार उक्त सावारी साधन कारबाहीबाट आठ लाख ३१ हजार पाँचसय रुपियाँ राजश्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा भने एक हजार तीनसय सवारी साधन कारबाहीमा परेका थिए । उक्त कारबाहीबाट सात लाख ४७ हजार रुपियाँ राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालयको सहायक निरीक्षक अधिकारीको भनाइ छ ।

जिल्लामा सवारी साधन कारबाही घट्दा राजस्व सङ्कलन भने बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ८४ हजार ५०० रुपियाँ बढी राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।