• १२ असोज २०८१, शनिबार

सिसडोल ल्याण्डफिल साइटमा फुटबल रङ्गशाला बनाउने चाहना छ : प्रमुख साह

blog

काठमाडौं, असार ६ गते । काठमाडौं महानगरका प्रमुख वालेन्द्र साहले काठमाडौंको फोहोर अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल साइटमा रङ्गशाला निर्माण गर्ने चाहना रहेको बताउनुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्बाङसँग फुटबल विकासका सन्दर्भमा कुरा गर्दै प्रमुख साहले यस्तो बताउनुभएको हो ।

‘‘सिसडोल ल्याण्डफिल साइटको फोहोरलाई उचित व्यवस्थापन गरेर हामी सुन्दर रङ्गशाला तथा पार्क निर्माण गर्न चाहन्छौँ । काठमाडौंको टुँडिखेललगायत महानगरका अन्य पार्क र मैदानमा फ्लड लाइट जडान गरेर राति खेल्न मिल्ने बनाउँछौँ ।,’’ प्रमुख साहको भनाइ छ ।

कुराकानीका क्रममा उहाँले काठमाडौंबाट लिग खेल्ने खेलाडी उत्पादन गर्न ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहेको बताउनुभयो ।

‘‘यसका लागि सम्बन्धित पक्षसँग सहकार्य गर्छौं ।,’’ प्रमुख साहले भन्नुभयो, ‘‘अहिले पनि काठमाडौं महानगरले महानगरमा भएका ‘ए डिभिजन’, ‘बी डिभिजन’ र ‘सी डिभिजन’  फुटबल क्लबहरुलाई खेल सञ्चालन गर्न आर्थिक सहयोग उपलब्ध गराइरहेका छौँ ।’’

नेपाली फुटबलको विकास र विस्तार गर्न आफूहरु महानगरसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै एन्फामा वरिष्ठ उपाध्यक्ष नेम्बाङले, सुशासन, आर्थिक पारदर्शिता र विकेन्द्रीकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउने बताउनुभयो ।