• ४ साउन २०८२, आइतबार

स्मृति दिवसमा ट्राफिक सचेतना

blog

बाँकेको खजुरा–४, ई गाउँका स्व. अर्जुन रोकाको स्मृतिमा श्रद्धाञ्जलीसभा गरिँदै । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, साउन ४ गते । सडक दुर्घटनामा निधन भएको बाँकेको खजुरा गाउँपालिका –४, ‘ई’ गाउँका २५ वर्षीय अर्जुन रोकाक्षेत्रीको प्रथम स्मृति दिवस पारेर ट्राफिक सुरक्षा सम्बन्धी कार्यक्रम गरिएको छ । 

आइतबार बिहान नेपालगन्जको सुर्खेतरोडस्थित धम्बोझीनजिक सडकमा ट्राफिक सचेतनासम्बन्धी बोर्ड राखिएको छ । सडक दुर्घटना न्यूनीकरणमा सहयोग होस् भन्ने उद्देश्यले ट्राफिक सचेतनासम्बन्धी बोर्ड राखिएको स्व. अर्जुनका आमा खिमा रोकायले बताउनुभयो । 

रोकायको गत वर्ष साउन ४ गते मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । दिउँसोको समय सडकमा यात्रारत अर्का व्यक्तिलाई जोगाउने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । 

स्थानीयले स्व. रोकायको सवारी दुर्घटनामा निधन भएपछि ट्राफिक सचेतनालगायतका सामाजिक काम गर्ने उद्देश्यसहित अर्जुन रोका स्मृति प्रतिष्ठान गठन गरेका छन् । 

प्रतिष्ठानका अध्यक्ष गोविन्द शर्माले रोकायले लागुऔषध विरुद्धको अभियान र खेलकुदको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण प्रतिष्ठानले विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । 

शर्माले भन्नुभयो, ‘प्रथम स्मृति दिवसको दिन पारेर ट्राफिक सचेतना सम्बन्धी साङ्केतिक कार्यक्रम गरेका छौं, आगामी दिनमा ट्राफिक प्रहरीसँग मिलेर अन्य कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौं ।’ ट्राफिक सचेतना बोर्डसँगै स्व. रोकायको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको छ ।