• ४ साउन २०८२, आइतबार

ताक्लाकोट जान दस हजार बढीले लिए सीमा पास

blog

ताक्लाकोट जानका लागि दुई देशको सीमा हिल्सामा ताक्लाकोट जाने तयारीमा स्थानीयवासी । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, साउन ४ गते । छिमेकी देश चीनको ताक्लाकोट जानका लागि दस हजारभन्दा बढी हुम्लावासीले सीमा पास लिनुभएको छ । रोजगारी र व्यापारको सिलसिलामा ताक्लाकोट जानका लागि यति धेरै जिल्लावासीले सीमा पास लिनुभएको हो ।

छिमेकी जिल्लाका बासिन्दालाई सीमानाभन्दा तीस किलो मिटर पर चीनको भुभागमा गएर काम तथा व्यापार गर्नका लागि जान अनुमति पत्रका रूपमा जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउने सीमा पास लिने हुम्लावासीको सङ्ख्या हालसम्म दस हजार ९५५ जना पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । 

यसमा नयाँ सीमा पास लिने सङ्ख्या आठ हजार २३७ जना रहनुभएको छ भने नवीकरण गर्ने सङ्ख्या दुई हजार ७१८ जना रहनुभएको छ । यो पास भने बर्सेनि साउनपछि नवीकरण गर्नुपर्ने हुन्छ । कोरोनापछि २०८१ साल वैशाख १८ गतेबाट चीनले हुम्ला नाका सञ्चालनमा ल्याएको थियो । 

कोरोनाको समय पनि ४७ जना हुम्लावासी ताक्लाकोटमा काम गरि रहेको अवस्थामा चीनले हिल्सा नाका बन्द गर्दा उहाँहरू त्यतै काम तथा तथा व्यापार व्यवसाय गर्दै आउनुभएको थियो । उहाँले यति धेरै हुम्लावासी चीनको पुराङ काउन्टीको ताक्लाकोट गएर काम गर्ने र व्यापार व्यवसाय गर्नेको सङ्ख्या उल्लेख्य रहेको बताउनुभयो । विशेषगरि हुम्लावासी ताक्लाकोटमा गएर अधिकांशले विभिन्न विकास निर्माणका संरचना निर्माणमा काम गर्ने, ३१२ जनाले व्यापार व्यवसाय गर्ने र होटेल तथा रेस्टुरेन्टमा पनि काम गर्दै आउनुभएको छ । 

त्यसैगरी केही व्यापारी ताक्लाकोटबाट व्यापारी प्रयोजनका सामान खरिद गरेर ढुवानी गर्न र केही निर्माण सामाग्री खरिद गर्नका लागि ताक्लाकोट जाने गर्नुहुन्छ । अधिकांश हुम्लावासी यसरी ताक्लाकोटमा काम गर्न छ महिनाका लागि जाने गर्नुहुन्छ । यो अवधिमा काम गरेर चारदेखि छ लाख रुपियाँ कमाइ गरेर ल्याउने गरेको ताक्लाकोटमा काम गरी रहनु भएका धन्जित भण्डारीले बताउनुभयो । २०८२ सालको वैशाख महिनायता मात्र तीन हजार ९०६ जनाले सीमा पास स्थानीय प्रशासनबाट लिनु भएको छ । यसमा दुई हजार ६५७ वटा नयाँ र एक हजार ७४१ वटा नवीकरणका सीमा पासहरू रहेका छन । यसरी सीमा पास लिने कार्य बाह्र महिना खुला रहने भए पनि मङ्सिर महिनासम्म लिने गरिएको कार्यालयले जनाएको छ ।