साहारा लिम्बू
फुङलिङ, असार ४ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका –८ मा बालबालिका र ज्येष्ठ नागरिकले निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । ५ वर्षमुनि र ६० वर्षमाथिका नागरिकले जिल्ला अस्पतालमा उपचार गराउन जाँदा निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका हुन् ।
फुङलिङ –८ ले वार्षिक बजेटअन्तर्गत एक आर्थिक वर्षका लागि आफ्ना जनतालाई यस्तो सेवा प्रवाह प्रारम्भ गरेको वडाध्यक्ष क्षितिज सुनुवारले बताउनुभयो । उहाँका अनुसार उमेर हद तोकिएका नागरिकले अस्पताल जानका लागि वडाध्यक्ष, वडा सदस्य, वडा कार्यालय वा वडाले तोकेका एम्बुलेन्स चालकसँग सम्पर्क गरेमा तत्काल सेवा पाउनेछन् ।
अन्य नागरिक हिँडेर पनि जान सक्ने भएकाले बालबालिका र वृद्धवृद्धा लक्षित कार्यक्रम राखिएको उहाँको भनाइ छ । वृद्धवृद्धा र बालबालिकालाई अस्पतालको पहुँचमा पुग्न समस्या भएको र कतिपयले खर्चका कारण अस्पताल नगई बसेको पाइएकाले यस्तो सेवा प्रारम्भ गरिएको अध्यक्ष सुनुवारले बताउनुभयो ।
यस्तै, वडाले अघिल्लो आर्थिक वर्षदेखि वडाका कोही नागरिकको मृत्यु भए किरिया खर्चको सहयोगका लागि १० हजार रुपियाँ उपलब्ध गराउँदै आएको छ । सुत्केरी महिलालाई एउटा कुखुराको भाले, भाले नखानेलाई घिउ, अण्डा र पोसिलो खानेकुरा वडाले उपलब्ध गराउँदै आएको छ ।