• ४ साउन २०८२, आइतबार

जन श्रमदानमार्फत सडक मर्मत

blog

काठेखोला गाउँपालिका वडा २ भिमापोखरामा श्रमदान गरी सडक मर्मत गर्दै स्थानीय । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की

काठेखोला (बागलुङ), साउन ४ गते । बागलुङको काठेखोला गाउँपालिकाका स्थानीयहरुले जन श्रमदानमार्फत सडक मर्मत तथा स्तरोन्नति गरेका छन् । काठेखोला गाउँपालिका वडा २ भिमापोखरा र वडा ७ रेशका स्थानीयहरुको सक्रियतामा सडक सुधार गरिएको हो ।

भिमापोखरा कल्याण समाजको समन्वयमा शनिबार काठेखोला –२ भिमापोखराको झण्डै चार किलोमिटर सडक मर्मत गरिएको छ । ८५ जना स्थानीयको सहभागितामा अक्षेतेदेखि वडा कार्यालयसम्म पुग्ने सडक अन्तर्गत ४ किलोमिटर सडकको नाली सफा गर्ने, खाल्डाखुल्डी पुर्ने र अफ्ठ्यारो ठाउँमा मर्मत गर्ने काम गरिएको भिमापोखरा कल्याण समाजका अध्यक्ष अध्यक्ष डिल्लीराज उपाध्यायले बताउनुभयो । 

अध्यक्ष उपाध्यायले अहिले सारा काम सरकारले गरिदिन्छ भन्ने मानसिकता हटाउँदै, केही काम समुदायले पनि गर्नुपर्छ भन्ने सोचसहित जनश्रमदान गरिएको जानकारी दिनुभयो । ‘विगतमा बाउबाजेहरुले सबै काम जनश्रमदानबाट गर्थे, हामीले त्यो परम्परा बिर्सनुहुँदैन’ अध्यक्ष उपाध्यायले भन्नुभयो, ‘आफ्नो समुदायको विकासको लागि सबैले जनश्रमदान गर्नुपर्छ ।’

समुदायले आफैं अघि सरेर केही काम गर्नु आवश्यक रहेकोमा अध्यक्ष उपाध्यायको भनाइ छ । ‘सरकारको मुख ताक्ने प्रवृत्ति हटाउँदै, जन श्रमदानमार्फत केही योगदान गर्नुपर्छ भन्ने सोचका साथ अभियान अघि बढाइएको हो’ उहाँले भन्नुभयो ।

कल्याण समाजका निवर्तमान अध्यक्ष टीकाबहादुर कार्कीले समुदायको विकासको लागि र समाजको लागि श्रमदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पहिले श्रमदान अनिवार्य भए पनि अहिले हराउँदै गएको बताउँदै अब निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । 

सडक सुधारपश्चात् सवारीसाधन आवतजावत गर्न सहज भएको स्थानीय सवारी चालक बलाराम शर्माले बताउनुभयो । त्यस्तै, वडा ७ रेशमा पनि साबिक रेश ९, २ र ४ अन्तर्गतका जिरेती, तिङरिङ, दामगाडे, रोटेपानीका स्थानीयले सडक मर्मत गरेका छन् । 

रोटेपानी टोल सुधार समिति र ओदानडाँडा मन्दिर व्यवस्थापन समितिको नेतृत्वमा जनश्रमदान गरी पहिरोले अवरुद्ध गरेको मन्दिर जाने गोरेटो बाटो पुनः सञ्चालनमा ल्याइएको रेशका वडाअध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । स्थानीयले सडकको नाली सफा गर्ने, खाल्डो पुर्ने र जोखिमपूर्ण स्थानमा मर्मत गर्ने काम गरेका छन् ।

जन श्रमदानका कार्यक्रमलाई निरन्तरता दिइने भिमापोखरा कल्याण समाजका अध्यक्ष उपाध्यायले बताउनुभयो । उहाँले वर्षमा कम्तीमा तीन–चार पटक श्रमदानका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।