• ३ साउन २०८२, शनिबार

नेपालगन्जका दुई खेलाडीले जिते स्वर्ण : करणको विश्व कीर्तिमान

blog

१२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङमा विश्व कीर्तिमान बनाउने नेपालगन्जका करण बाडिया। तस्बिर सौजन्य : बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ एसोसियसन

सिराज खान

नेपालगन्ज, साउन ३ गते। थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका करण बाडियाले २२० किलो उचालेर विश्व कीर्तिमान बनाउनु भएको छ।

बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ एसोसियसनका अध्यक्ष बिनि टन्डनले दिनुभएको जानकारी अनुसार बाडियाले ६० किलो तौलमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा २२० किलो उचालेर विश्व कीर्तिमान बनाउँदै गोल्ड मेडल जित्न सफल हुनुभएको हो। 

बाडियाले ६० किलो तौलमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा रजत पदक जित्नुभयो। 

सोही प्रकारले प्रतियोगितामा सहभागी नेपालगन्ज ७ डिएसपी रोडका मोहित गुप्ताले स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाईन बेन्च प्रेसमा स्वर्ण पदक र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा कास्य जित्न सफल हुनुभएको अध्यक्ष टन्डनले बताउनुभयो। 

उहाँका अनुसार नेपालगन्ज २ घरबारी टोलका सन्तोष काजी शाक्यले ७६ किलो तौलमा पुरुषतर्फ रजत पदक जित्नु भएको छ। 

सो प्रतियोगितामा बाँकेबाट तीनजना खेलाडी र अन्य जिल्लाबाट छ जना खेलाडी गरी नेपालबाट नौ जना खेलाडी सहभागी भएको बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ एसोसियसनले जनाएको छ। प्रतियोगितामा नेपालीे टिमले सात स्वर्ण, पाँच रजत र दुई कास्य पदक गरेर १४ वटा मेडल प्राप्त गरेको जनाइएको छ।