सिराज खान
नेपालगन्ज, साउन ३ गते। नेपालगन्ज उपमहानगरपालिकाले पालिका अन्तर्गतका विद्यालयहरूलाई स्वदेशी कपडाको पोशाक प्रयोग गर्न गराउन र स्वदेशी टेलरमा सिलाउन निर्देशन जारी गरेको छ।
सीमापारी भारतीय बजारका व्यवसायीहरूको पसलबाट स्थानीय विद्यालयहरूले विद्यालय पोशाक ल्याउन अभिभावकलाई बाध्य पार्ने गरेको गुनासो आएपछि स्थानीय सरकारको रूपमा रहेको उपमहानगरले विद्यालय पोशाक नेपाली कपडा र नेपाली टेलरमा सिलाएको हुनुपर्ने कडा निर्देशन जारी गरेको हो।
नेपालगन्ज र सो वरिपरिका विद्यालयहरूले कमिसनको लोभमा सीमा पारीका कपडा पसलबाट विद्यालय पोशाक ल्याउन दबाब दिने गरेको जनाउँदै कपडा व्यवसायी सङ्घ र सिलाई व्यवसायी सङ्घले केही दिनअघि सो रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएका थिए।
सोही ज्ञापनपत्रलाई आधार बनाएर जिल्ला प्रशासन कार्यालयले नेपालगन्ज उपमहानगरपालिकालाई सो रोक्न अनुरोध गरेकोले उपमहानगरले सूचना प्रकाशित गरेर विद्यालयहरूलाई निर्देशन दिएको उपमहानगरका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापाले बताउनुभयो।
उहाँले उपमहानगरका सबै विद्यालयले पोशाक निर्धारण गर्दा नेपाली कपडा र नेपाली टेलरमा सिलाएको हुनुपर्ने सूचना जारी गरिएको जनाउँदै पोशाक परिवर्तन गर्नुपरे अन्तिम परीक्षा अगावै विद्यार्थीलाई पूर्व सूचना दिन पनि निर्देशन दिएको बताउनुभयो।
विद्यालयहरूले ड्रेस सिलाउनका लागि गोप्य सम्झौता गर्ने गरेको गुनासो आएकोले त्यस्तो कुनै सम्झौता नगर्न पनि उपमहानगरद्वारा जारी गरिएको निर्देशनमा उल्लेख गरिएको छ।
उपमहानगरको शिक्षा शाखाले विद्यालयहरुका लागि जारी गरेको सूचनामा विद्यालयहरुले कमिसनको कारोबार गरेको गुनासो आएकोले त्यस्तो नगर्न समेत सचेत पारिएको छ।
स्थानीय सरकारको निर्देशन पालना भए नभएको बारेमा निरन्तर अनुगमन गरिने समेत शिक्षा शाखाले जनाएको छ।