• ३ साउन २०८२, शनिबार

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोगको मुद्दा दर्ता

blog

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएल ।

सिओल, साउन ३ गते । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोग र सरकारी काममा अवरोध पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरिएको छ । उहाँले सन् २०२४ को डिसेम्बर ३ मा देशमा मार्शल ल (सैनिक शासन) घोषणा गर्दै संसदमा सेना पठाउनु भएको थियो, जसले देशमा गम्भीर राजनीतिक सङ्कट निम्त्यायो ।

उहाँलाई जनवरी महिनामा पक्राउ गरिएको थियो । तर, कानुनी प्रक्रिया अनुसार मार्च महिनामा उहाँलाई अस्थायी रूपमा रिहा गरिएको थियो । पछिल्लो साता उहाँलाई फेरि सबुत नष्ट गर्ने सम्भावना देखिएकाले पुनः पक्राउ गरिएको हो । अनुसन्धानकर्ताहरूका अनुसार युनले प्रधानमन्त्री र रक्षा मन्त्रीले समर्थन गरेको झूटो कागज तयार पारेका थिए र त्यसलाई पछि नष्ट गर्न खोजिएको थियो । 

साथै, मार्शल ल घोषणा गर्नुपर्ने कानुनी प्रक्रिया उहाँले पूरा गर्नुभएको थिएन । अदालतमा सुनुवाइका क्रममा युनले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएको र शरीरमा कमजोरी रहेको बताउँदै रिहाइको माग गर्नुभएको थियो, तर जुलाई १८ मा अदालतले उहाँको अनुरोध अस्वीकार गरेको छ । हाल उहाँलाई तापक्रम निकै बढेको बेलामा, पङ्खा मात्र भएको तर एयर कन्डिसनर नभएको कोठामा एक्लै राखिएको छ । रासस/एएफपी