काठमाडौँ, साउन ३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालयमा जारी छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमा छलफल भइरहेको छ । हालसम्म ३२ जना पोलिटब्यूरो सदस्यले प्रतिवेदनमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको छ । अब ४० जना सदस्यले बोल्न बाँकी छ ।
सचिवालय बैठकबाट पारित अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन पोलिटब्यूरो बैठकले अनुमोदन गर्ने उहाँले जानकारी दिनुभयो ।
आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन आयोजना गर्ने कार्यक्रम छ।