• ४ साउन २०८२, आइतबार

साफ यु–२० महिला च्याम्पियनसिप

भुटानमाथि नेपालको सानदार जित

blog

बल खोस्ने प्रयास गर्दै नेपाल र भुटानका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, साउन ३ गते । बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ । 

ढाकास्थित बसुन्धरा किङ्ग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले हरायो । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा दुई गोल गरेको थियो । 

नेपालको जितमा प्रर्णिमा राई र मीना देउवाले ह्याट्रिक पूरा गर्नुभयो । यस्तै समीक्षा घिमिरे र कुसुम खतिवडाले एक एक गोल गर्नुभयो । यसअघिको खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो ।

यस्तै चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । नेपाल जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भने घरेलु टोली बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो । 

यस च्याम्पियनसिपको पाँच खेलमा चौथो जित निकालेको नेपालले १२ अङ्क बनाएको छ । नेपाललाई च्याम्पियन बन्न अब घरेलु टोली बङ्गलादेशविरुद्ध सोमबार हुने अन्तिम खेल जित्नुपर्ने छ । 

च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।