• ३ साउन २०८२, शनिबार

गाजामा खाद्य सङ्कट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

blog

न्यूयोर्क, साउन ३ गते । संयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । विशेष गरी महिला र बालबालिकाहरू तीव्र भोकमरीको सिकार भइरहेका छन्, जसका कारण हरेक दिन मानिसहरूको मृत्यु भइरहेका घटनाहरू बढ्दै गएका छन् ।

सङ्घको मानवीय मामिलाका लागि समन्वय कार्यालय (ओसिएचए) ले सार्वजनिक गरेको प्रतिवेदनमा इजरायली प्रशासनले गाजाको उत्तरी क्षेत्रमा पुनः जबरजस्ती विस्थापनको आदेश दिएको उल्लेख गरिएको छ । त्यहाँका अस्पतालमा उपचारको अभावका कारण कुपोषित बालबालिका र वयस्कहरू ज्यान जोखिममा परेका छन् । पछिल्ला दिनहरूमा इन्धन सङ्कट अझै चर्किएको छ । सीमित मात्रामा इन्धन आए तापनि फोहर व्यवस्थापन रोकिएको छ भने डिर अल बलाह क्षेत्रमा पानीका कुवाहरू बन्द भएका छन् ।

यस्तै, डायलाइसिस जस्ता जीवनरक्षक स्वास्थ्य सेवाहरू पनि बन्द हुनुका साथै अन्य सेवा रोक्ने तयारी भइरहेको छ । मानवीय सहायता गाजाभित्र प्रवेश गराउन गरिएको प्रयास पनि निरन्तर असफल हुँदै गएको छ । हालैका १३ प्रयासमध्ये केवल ७ प्रयासमा मात्र इजरायली प्रशासनले अनुमति दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

सङ्गठनले गाजामा युद्ध, विस्थापन, भोकमरी, इन्धन अभाव र जनमानसमा बढ्दो निराशालाई सामूहिक अभाव सामान्यजस्तो बन्दै गएको त्रासदीपूर्ण अवस्था भएको टिप्पणी गरेको छ । यसैबिच, गाजामा खाद्यान्नको गम्भीर अभावले दुर्भिक्षको अवस्था ल्याएको र अन्तर्राष्ट्रिय समुदाय भने अझै मौन रहेकोमा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय संस्थाहरूले खेद प्रकट गरेका छन् । रासस/क्युएनए