वाल्घा, सिरिया, साउन ३ गते । सिरियाको ड्रुज समुदाय बसोवास गर्ने क्षेत्रमा हिंसा चर्किरहेका बेला संयुक्त राज्य अमेरिकाले सिरिया र इजरायलबिच युद्धविरामको सम्झौता गराएको घोषणा गरेको छ । सिरियन मानव अधिकार अनुगमन केन्द्रका अनुसार, ड्रुज र बेदुइन समुदायबिच आइतबारदेखि सुरु भएको झडपमा कम्तीमा ६३८ जनाको मृत्यु भइसकेको छ ।
यो सङ्कटले कार्यवाहक राष्ट्रपति अहमद अल-शराआ को नियन्त्रण क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । इजरायलले बुधबार राजधानी दमास्कसमा हवाई आक्रमण गर्दै सिरियाली सेनाको मुख्यालय नै लक्षित गरेको थियो । अमेरिकाका सिरिया मामिलाका विशेष दूत टम बेराकले शनिबार बिहानै जानकारी दिँदै भन्नुभयो, “शराआ र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच अमेरिकाको पहलमा युद्धविरामको सहमति भएको छ ।” उक्त सम्झौतामा टर्कीए र जोर्डनको समर्थन रहेको पनि उहाँले बताउनुभयो ।
बेराकले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्नुभयो, “ड्रुज, बेदुइन र सुन्नी समुदायलाई हतियार बिसाएर शान्तिपूर्ण र एकीकृत सिरियाली पहिचान निर्माण गर्न आह्वान गर्दछौँ ।” यसअघि, अमेरिकाको मध्यस्थतामै शराआले ड्रुजको केन्द्र स्वेइदा सहरबाट सैनिक फिर्ता गरेका थिए । तर शराआको कार्यालयले ड्रुज लडाकुहरूकै कारण युद्धविराम भङ्ग भएको आरोप लगाएको छ । शुक्रबार साँझ शराआ कार्यालयले फेरि स्वेइदातर्फ थप सुरक्षा बल पठाउने तयारी रहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।
स्वेइदामा झडप, अस्पताल भरिए
एएफपीका अनुसार, शुक्रबार स्वेइदाको प्रवेशद्वारमा ड्रुज र बेदुइन लडाकुहरूबिच पुनः झडप भएको छ । करिब २०० बेदुइन लडाकुले मेसिनगन र गोला प्रहार गरेका थिए । स्वेइदा राष्ट्रिय अस्पतालमा शव राख्ने ठाउँ सकिएकाले शव सडकमा राख्नुपरेको छ । चिकित्सक डाक्टर ओमर ओबेदले भन्नुभयो,“सोमबारदेखि ४०० भन्दा बढी शव आएका छन् । शव राख्ने फ्रिजमा ठाउँ छैन ।” संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायका अनुसार, आइतबारदेखि हालसम्म ७९ हजार ३३९ व्यक्ति विस्थापित भएका छन् ।
देशभरबाट बेदुइनको समर्थन, इजरायलको राहत सहायता
सिरियाभरका विभिन्न बेदुइन समुदायका लडाकुहरू स्वेइदाको वरपरका गाउँहरूमा जम्मा भएका छन् । हमाका प्रमुख अनेस अल–एनादले भन्नुभयो, “हाम्रो बेदुइन दाजुभाइहरूले सहयोग मागे, त्यसैले हामी आइपुग्यौं ।” एएफपीले देखेको अनुसार, वाल्घा गाउँमा दर्जनौँ घर र पसलहरू जलाइएका छन् । अहिले गाउँ बेदुइन लडाकुहरूको नियन्त्रणमा छ ।
यसैबिच, इजरायलले स्वेइदाका ड्रुजहरूका लागि ६ लाख डलर बराबरको राहत सामग्री (खाद्य र औषधी) पठाउने घोषणा गरेको छ । विश्लेषकका अनुसार, इजरायलको यस्तो कदमले सिरियाली सेनालाई थप कमजोर पार्ने रणनीति हो । रासस/एएफपी