• ४ साउन २०८२, आइतबार

महिला कबड्डी विश्वकप खेल्दै नेपाल

blog

बिदाइको क्रममा नेपाली महिला कबड्डी टोली ।

काठमाडौँ, साउन ३ गते । नेपालले भारतमा हुने दोस्रो संस्करणको महिला कबड्डी विश्वकप खेल्ने भएको छ ।

भारतको हरियानास्थित मोरमाजरामा अगष्ट ३ देखि १० तारिखसम्म हुने विश्वमपमा भाग लिन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार भारत प्रस्थान गरेको छ । 

नेपाली खेलाडी टोलीको कप्तानमा मानमती विष्ट हुनुहुन्छ । यस्तै उपकप्तानमा जयन्ती बडु, मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहनुभएको छ । 

प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा हुनुहुन्छ । 

भारत जानुअघि नेपाली टोलीका प्रशिक्षक विष्णुदत्त भट्ट र कप्तान मानमतीले आठ महिनाको बन्द प्रशिक्षण र तयारीले खेलाडीको मनोबल उच्च रहेको बताउनुभयो । 

‘‘तयारी राम्रो गरेका छौँ । राम्रो खेल्दै उपाधि जितेर फर्कनेमा आशावादी छौँ,’’ प्रशिक्षक र कप्तानले भन्नुभयो । विश्वकप अघि नेपाली टोलीले मोरमाजरामै १२ दिन प्रशिक्षणका र स्थानीय पाँच क्लबसँग अभ्यास खेल पनि खेल्नेछ ।

विश्व वरीयताको तेस्रो स्थानमा रहेको नेपाल छनोट हुँदै विश्वकप खेल्न लागेको हो । यस विश्वकपमा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्डले भाग लिँदैछन् । 

विश्वकपको दोस्रो संस्करण १३ वर्षपछि हुन लागेको हो । पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा आयोजना भएको थियो ।