• ३ साउन २०८२, शनिबार

‘आमा, सपना र ताराहरू’ नियाल्दा

blog

आमा ! जन्म दिने आमा !! आफ्ना सबै सुख आफ्ना सन्तानमा देख्ने वात्सल्यकी अजस्र स्रोत, प्रेरणापुञ्ज, ममतामयी आमा । सन्तानप्रतिको माया, त्याग र सङ्घर्षको प्रतिमूर्ति आमा, सन्तानका लागि पनि सबैभन्दा आदरणीय, सम्मानित पात्र । व्याख्या, वर्णन र महिमा केहीले पनि पूर्ण नहुने सन्तानप्रतिको समर्पणकी प्रतिमूर्ति । आमाको यो भूमिकाको महिमाबिना विश्व साहित्य पनि अधुरो हुन्छ भन्दा अत्युक्ति नहोला । साहित्यमा सबैभन्दा बढी लेखिने पात्र– आमा । कथा, कविता, उपन्यास, गीत, काव्य, महाकाव्य सबै विधाले आमा खोजेका छन्, आमालाई छुटाउन सकेका छैनन् । 

आमाका सङ्घर्षका कथा, सन्तानलाई दिने माया भने कुनै पनि साहित्य सिर्जनाबाट पूर्ण हुन सक्दैनन् । साहित्य सिर्जनाभन्दा माथि छन् । र पनि आमाको सङ्घर्ष, त्याग र अमूल्य माया साहित्यमार्फत पस्केर केही हलुका अनुभूति गर्ने, आमाप्रति सम्मान प्रकट गर्ने प्रयास सन्ततिहरूमा पाइन्छ । यस्तै प्रयासस्वरूप नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पछिल्लो कृति प्रकाशन भएको छ, ‘आमा, सपना र ताराहरू’ । राष्ट्रिय राजनीतिमा सुपरिचित र स्थापित नेता ईश्वर पोखरेल एक कुशल राजनीतिज्ञ मात्र होइन; लेखन र साहित्य सिर्जनामा पनि सक्रिय देखिनुहुन्छ । ‘पिस्कर दमन र प्रतिरोधको कथा’, ‘माघ–१९’, ‘पूर्वको रातो तारा’, ‘राष्ट्रिय सुरक्षा र नेपाली सेना’ आदि पुस्तक प्रकाशनपछि पोखरेलको पारिवारिक यथार्थमा आधारित अर्को कृति हो, ‘आमा, सपना र ताराहरू’ । 

विसं २०१० मा ओखलढुङ्गाको माम्खामा जन्मिनुभएका लेखक पोखरेलका अघिल्ला चार कृति राजनीतिक परिवर्तनका सन्दर्भमा भएका सङ्घर्ष, बलिदान, प्रतिकूलता र राजकीय जिम्मेवारीमा रहँदाका अनुभव र अनुभूतिहरूमा आधारित छन् । पछिल्लो पुस्तक ‘आमा, सपना र ताराहरू’ नितान्त पारिवारिक जीवन; खास गरी आमाको जीवनसङ्घर्ष र सँगसँगै आफ्नो जीवनयात्राको एउटा पाटो (बाल्यकाल, शिक्षा आर्जन र राजनीतिमा प्रवेश र सङ्क्षेपमा भूमिगत जीवन) लगायत पक्षलाई उजागर गर्ने गरी आएको छ । 

लेखकको यो संस्मरणात्मक कृति हो । यस पुस्तकमा लेखकले आमासँगका आफ्ना अविस्मरणीय प्रसङ्गहरू उजागर गर्नुभएको छ । बाल्यकालमा छोरीको कन्यादान गर्ने सङ्कीर्ण र अन्धविश्वासी नेपाली समाजको परम्पराको निरन्तरताका रूपमा लेखककी आमा पनि ११ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिनु पर्‍यो । त्यस अर्थमा आमाको जीवनसङ्घर्ष बाल्यकालबाटै सुरु भयो । उमेर ४० वर्ष पुग्दा आमाले १२ सन्तानलाई जन्म दिनुभयो । यसबिचमा पति विभिन्न रोगले थलिएपछि उपचार र स्याहारसुसारमा आमाले कुनै कसर बाँकी राख्नुभएन । यहाँसम्म कि उपचारका लागि आफैँ बोकेर पनि ठाउँ ठाउँ पुर्‍याउनुभयो । मृत्यु हुँदा आफैँ बोकेर तुलसीको मठमा पुर्‍याउनुभयो । आमाको यो सङ्घर्षपूर्ण जीवन पढ्दा भावविह्वल नै बनाउँछ । 

१२ औँ र कान्छो सन्तानका रूपमा जन्मनुभएको हो– ईश्वर पोखरेल । उहाँ सानो (बालक) छँदा नै बुवाको निधन भयो । अल्पायुमा बुवाको निधनपछि लेखकले बुवाबाट प्राप्त हुने माया, शिक्षादीक्षालगायत सबै अभिभावकीय जिम्मेवारी आमाबाटै प्राप्त गर्नुभएको हो । यस पृष्ठभूमिमा लेखकले कमजोर आर्थिक स्थितिको पीडादायी घरायसी अवस्था, बुवाको निधन र त्यसपछि आमामा थपिएको घरमूलीको जिम्मेवारी र चुनौती, ग्रामीण सामाजिक परिवेश; दुःख, सङ्घर्ष गरेर पनि छोराछोरीलाई आमाबाट प्राप्त वात्सल्यपूर्ण पारिवारिक वातावरण र सन्तानको भविष्य उज्ज्वल बनोस् भनी आमाले छोराको शिक्षाका लागि समयमै लिनुभएको निर्णय र विद्यालय शिक्षाका लागि बाल्यकालमै घर छोडेर हिँड्नु परेको बाध्यात्मक अवस्थालगायत पक्षलाई अत्यन्त यथार्थपरक र मर्मस्पर्शी ढङ्गले जस्ताको तस्तै पुस्तकमा प्रस्तुत गरी आफ्नो विगतलाई छ्याङ्ङ पारिदिनुभएको छ । 

विद्यालय र कलेजको अध्ययन सकिँदा नसकिँदै राजनीतिमा प्रवेश गर्दाका केही पक्ष, कम्युनिस्ट पार्टीको पूर्णकालीन सदस्य र भूमिगत राजनीतिक जीवनका बारेमा पनि उहाँले पुस्तकमा सङ्क्षेपमा उल्लेख गर्नुभएको छ । कम्युनिस्ट पार्टीको सङ्गठन निर्माण र विस्तारमा महत्वपूर्ण योगदान गरेका लेखक पोखरेलले यस कृतिमा राजनीतिको सन्दर्भ केवल त्यस कालखण्डमा आमासँगको प्रसङ्ग जोड्नका लागि उल्लेख गर्नुभएको छ ।

सन्तानसुख हरेक अभिभावकका लागि जीवनको सबैभन्दा ठुलो चाहना र महत्वको विषय हो । हरेक अभिभावक छोराले घरव्यवहार समाल्ने दिन पर्खेर बसिरहेका हुन्छन् । लेखकको आमामा पनि त्यो चाहना थियो होला, हुनु स्वाभाविक हो तर त्यसविपरीत आमाको सल्लाह र जानकारीबिना नै जीवनलाई जोखिममा राखेर पोखरेल कम्युनिस्ट पार्टीको पूर्णकालीन सदस्यका रूपमा कष्टपूर्ण भूमिगत राजनीतिमा होमिनुभयो । करिब पाँच वर्ष जिउँदोमर्दो थाहा नपाउँदा र छोरा मरिसक्यो/मारिसके भन्ने हल्ला सुन्नुपर्दा आमालाई परेको पीर र सहनु परेको पीडाका बारेमा पुस्तकमा उल्लेख नगरिए पनि अनुमान गर्न सकिन्छ । भूमिगत जीवनको केही वर्षपछि प्रतिकूलताका बिच आमालाई भेटेर आश्वस्त पार्ने कुरामा पोखरेलले ध्यान पुर्‍याउनुभएको छ । घरमा आमाले गर्नुभएको दुःख र आमाले बोक्नुभएको पारिवारिक जिम्मेवारी समाल्ने बेलामा देश, जनता र परिवर्तनका लागि भन्दै कठोर राजनीतिक बाटोमा हिँडे पनि छोरासँग आमाको गुनासो छचल्किएको भेटिँदैन/पाइँदैन । यसबाट आमामा ममता मात्र होइन, महानता नै झल्कन्छ । छोराको बिहे आफ्नो गच्छे अनुसार धुमधामसँग रमाइलो गरी गर्ने धोको हरेक आमालाई हुन्छ तर पोखरेलले अन्तरजातीय विवाह गरी एकै पटक बुहारी चिनाउँदा/भेट गराउँदा आमामा कुनै नकारात्मक प्रतिक्रिया नपाइनु गौरवको विषय हो ।   

कहालीलाग्दो कमजोर आर्थिक अवस्था, बिरामी पतिको अल्पायुमा निधन र १२ सन्तानकी आमाले दर्दनाक घरायसी जिम्मेवारी पार लगाउनु सामान्य कुरा थिएन, चुनौतीपूर्ण थियो । सबै प्रतिकूलता सामना गरेर आमाले आफ्नो जिम्मेवारी कुशलता र सफलतापूर्वक पूरा गर्नुभएको थियो । पुरुषप्रधान हाम्रो समाजमा आमाले नायकत्व प्राप्त गर्नुभएको थियो । करिब सिङ्गो जीवन सङ्घर्षपूर्ण रहे पनि कान्छो छोराको राजनीतिक जीवनको सफलता र सँगै बस्ने वातावरणबाट उत्तरार्धमा आमाले सन्तोषको सास फेर्नुभएको विश्वास गर्न सकिन्छ । लेखकले भन्नुभए जस्तै आमाले जीवनभर जुन भूमिका निर्वाह गर्नुभयो; उहाँ एक वीराङ्गना नै हो । 

यथार्थमा आधारित यो पुस्तक पढ्दा एक पारिवारिक कहानी, एक आमाको जीवनसङ्घर्ष भए पनि यो आमआमा र खास गरी निम्न आर्थिक अवस्था, निम्नमध्यमवर्गीय धेरै परिवारको वास्तविक जीवनसँग मेल खान्छ जस्तो लाग्छ । हजारौँ आमाले कठोर सङ्घर्ष गरेर आफ्ना सन्तान हुर्काउँछन्, शिक्षादीक्षा दिन्छन् र आफ्नो सांसारिक जीवनलीला बिसाउँछन् । यिनै र यस्तै विषयवस्तुलाई लिपिबद्ध गरेर लेखकले जन्म दिने आमा मात्र होइन; यस्ता सबै आमाप्रति सम्मान प्रकट गर्नुभएको छ । मृत्यु जीवित सत्य हो, यसलाई स्वीकार गरे पनि आमाप्रतिको दायित्व पूरा गर्न नसकेकोप्रति लेखकमा छटपटाहट देखिन्छ । अभाव, गरिबीको त्यो कहालीलाग्दो अवस्था, मलमपट्टी बनेर उभिन नसकेकोमा लेखकलाई पीडा भएको अनुभूति हुन्छ । तर पनि लेखकमा मेरी आमाका कर्महरूले नै उहाँलाई अजर र अमर बनाउने छ भन्ने भरपूर विश्वास देखिन्छ । 

पुस्तकमा विषयहरूको प्रस्तुति सरल, सहज र पठनीय शैलीमा रहेको छ । पुस्तकको शीर्षक लामो छ, विषयवस्तुले पुस्तकले सम्बोधन गरे जस्तो गरी सपना र ताराहरूका बारेमा अलि प्रस्टसँग समेट्न नसकेको हो कि जस्तो लाग्छ । आमाका १२ सन्तान र ती सन्तानका उन्नति, प्रगति र सफलताका कथा पनि सङ्क्षेपमा उन्ने काम गर्नुभएको भए पुस्तक अझ पूर्ण र रुचिपूर्ण हुने थियो भन्ने लाग्छ । बाल्यकालमै विवाह भएकाले बुहार्तन कस्तो थियो, आमाको त्यो कालखण्ड पनि समेटिएको भए अझ राम्रो हुन्थ्यो । पुस्तकमा भावना मात्र होइन; सन्देश पनि बेजोड रूपमा प्रकट भएको छ ।  

लेखकले पुस्तकमा आफ्नो बाल्यकाल, आर्थिक दुरवस्था, विभेदकारी समाजको चित्रण र परिवारमा आमाको नायकत्वका बारेमा मार्मिक यथार्थ प्रस्तुत गर्नुभएको छ । समाजका धेरै मानिस आफ्नो विगत र यथार्थ बिर्सेर प्रस्तुत हुने प्रवृत्तिभन्दा भिन्न ढङ्गबाट लेखकमा आफ्नो यथार्थ पारिवारिक आर्थिक अवस्थाको स्वीकारोक्ति पुस्तकमा पाइन्छ । यो लेखकको महानता हो ।