• ३ साउन २०८२, शनिबार

सडक विस्तार गर्न नयाँ ठेक्का आह्वान

blog

बनेपा समाचारदाता

बनेपा, साउन ३ गते । निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको साढे चार महिनापछि अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक विस्तारका लागि नयाँ ठेक्का आह्वान भएको छ । सडक डिभिजन भक्तपुरले १४ महिनाभित्र काम सम्पन्न गर्ने गरी अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तारका लागि नयाँ बोलपत्र आह्वान गरेको हो । 

सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको ४.१५५ किलोमिटर सडक विस्तारका लागि नयाँ ठेक्का आह्वान गरिएको जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो, “धुलिखेल–खावा सडक विस्तारका लागि अर्थ मन्त्रालयबाट ४२ करोड ९० लाख रुपियाँको स्रोत सुनिश्चित भएसँगै चौध महिनाभित्र सडकको काम सम्पन्न गर्ने गरी नयाँ ठेक्का आह्वान गरेका छौँ ।” उहाँले अरनिको राजमार्ग सूर्यविनायक–धुलिखेल सडक विस्तारको अन्तिम विन्दुबाट नै सडक विस्तारको काम सुरु गरिने बताउनुभयो । 

सडक विस्तार गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, धुलिखेल क्याम्पसलाई पहिरोबाट जोगाउनका लागि पर्खाल लगाउन तथा वर्षायाममा आउने पानीलाई एक ठाउँमा सङ्कलन गरी व्यवस्थित तरिकाले बगाइने संरचना निर्माण गरिने बताउनुभयो । उहाँले सडक विस्तारका लागि अधिकांश स्थानमा सडक काट्ने काम सकिएको जानकारी दिनुभयो । नयाँ ठेक्कामार्फत काम गर्दा डिभिजन सडक कार्यालयले फागुनदेखि चैत महिनाभित्र सडक कालोपत्रे गरिसक्ने गरी काम अघि बढाइने बताउनुभयो । सडक विस्तार गर्ने क्रममा धुलिखेलदेखि खावासम्मको सडक सात मिटर चौडाइको उक्त सडकखण्डमा नयाँ प्रविधिको कालोपत्रे गरिने छ । यसअघि उक्त सडक विस्तारको जिम्मा पाएको गौरी पार्वती निर्माण सेवा प्रालिले सम्झौता अनुसारको समय सीमाभित्र काम नगरेपछि डिभिजन सडक कार्यालयले गत फागुन १५ गते ठेक्का अन्त्य गरेको थियो । 

यसअघि सडक निर्माणको जिम्मा पाएको गौरी पार्वती निर्माण सेवाले धुलिखेलदेखि पकुचासम्मको दुई किलोमिटर सडकको कटिङ, नाली बनाउनेलगायतका काम सकेर कालोपत्रे गर्ने अवस्थामा पुर्‍याएको भए पनि गत असोज महिनाको बाढीपहिरोका कारण क्षति गरेको थियो । उक्त कम्पनीले पकुचाभन्दा तलको दुई किलोमिटर सडकमा भने सडक विस्तारको कुनै काम गरेको छैन । उक्त सडक विस्तारको काममा ढिलाइ भएका कारण संसदमा समेत पटक पटक सरकारको ध्यानाकर्षण गराइएको थियो ।