• ३ साउन २०८२, शनिबार

आत्महत्या गर्नेको सङ्ख्या बढ्दै

blog

जिल्ला प्रहरी कार्यालय दैलेख आत्महत्याको विवरण प्रस्तुत गर्दैै । तस्बिरः यामराज बिष्ट

यामाराज बिष्ट
पञ्चकोशी (दैलेख), साउन ३ गते ।
जिल्लामा एक वर्ष भित्रमा ४७ जनाले आत्महत्या गरेको छन् । जिल्ला प्रहरी कार्यालय दैलेखको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१–८२मा कुल दुई सय १८ वटा अपराध घटना मध्ये ४४ जनाले झुण्डिएर तीन जनाले विष सेवन गरी ४७ जनाले आत्महत्या गरेका छन् ।

यसरी तथ्याङ्कलाई आधार मानेर हेर्दा झुण्डिएर, विष सेवन गरेर  प्रत्यक वर्ष आत्महत्या गर्नेहरूको सङ्ख्यामा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले बताउनुभयो । उहाँले आत्महत्यालाई न्यूनीकरण गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार आत्महत्याका धेरै कारणमध्ये मानसिक रोग, सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको बताउनुभयो ।

यस्तै समाजमा आत्महत्याको कारणहरू हेर्दा सामाजिक सञ्जाल र सामाजिक सञ्जालको दुरुपयोग, बाल विवाह, बहु विवाह जस्ता कारणले पनि आत्महत्या बढेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले बताउनुभयो । उहाँले जिल्लामा आत्महत्या ४७, बलात्कार घटना २५, लागुऔषध ११, सवारी दुर्घटना नौ, व्यक्ति हत्या सात, ज्यानमार्ने उद्योग सात, आत्महत्या दुरुत्साहन ६, हातहतियार दुई र ठगी घटनाका दुई समेत दुई सय १८ वटा मुद्दा चलेका जानकारी दिनुभयो ।