टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), साउन ३ गते । गुल्मीमा पछिल्लो वर्ष नयाँ नागरिकता बनाउनेभन्दा प्रतिलिपि बनाउने बढ्दै गएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको विवरण अनुसार नयाँ बनाउनेहरु बर्सेनी घट्दै गएका छन् । तर, प्रतिलिपि लिनेहरुको सङ्ख्या अस्वभाविक वृद्धि भएको छ । यसले नागरिक नागरिकताप्रति जिम्मेवार नदेखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताउनुभयो ।
आर्थिक वर्ष २०८१/०८२ मा चार हजार ५४५ पुरुष र चार हजार ५३७ जनाले नयाँ नागरिकता बनाउँदा सात हजार ४५८ जनाले प्रतिलिपी बनाएका छन् । गत वर्ष नौ हजार ६१८ ले नयाँ र पाँच हजार ६३६ ले प्रतिलिपि बनाए थिए । निमित्त प्रमुख जिल्ला अधिकारी गैरेले पैसा नलाग्ने, पुन बनाउन सकिने भन्ने गलत मानसिकताको साथ सुरक्षामा ध्यान नदिएकाले नागरिकता हरायो, धोइयो भनेर धेरै बनाउन आउने बताउनुभयो । समग्रमा नयाँ नागरिकता र राहदानी बनाउनेहरुको सङ्ख्या घट्दै जान थालेको छ ।
आर्थिक वर्ष २०८०/०८१ म नौ हजार ६१८ जनाले नागरिकता बनाएकोमा आर्थिक वर्ष २०८१/०८२ मा चार हजार ५४५ पुरुष र चार हजार ५३७ जना महिला गरेर नौ हजार ८२ जनाले वंशजको आधारमा नागरिकता बनाएका छन् । बैबाहिक अंगिकृत १८ र गैरआवासिय १८ जनाले नागरिकता बनाएको प्रशासकीय अधिकृत तारा नाथ फुल्लेलले जानकारी दिनुभयो । त्यस्तै राहदानी बनाउनेहरु पनि एक हजार ४४४ जना कम छन् । आर्थिक वर्ष २०८०/०८१ म १२ हजार २७६ जनाले राहदानी बनाएका थिए ।
आर्थिक वर्ष २०८१/०८२ मा छ हजार ३८२ पुरुष र चार हजार १२४ महिला गरेर १० हजार ८३२ जनाले राहदानी बनाएका छन् । भने ३३६ जना नाबालकले राहदानी बनाएका छन् । आर्थिक वर्ष २०८०/०८१ म १२ हजार २७६ जनाले राहदानी बनाएका थिए । गुल्मीका नागरिकताको प्रतिलिपी बनाउनेको सङ्ख्या भने बर्सेनी बढ्ने गरेको छ ।
नयाँ नागरिकताका सङ्ख्याको ८२ प्रतिशत प्रतिलिपी ल्याउनेहरु रहेका छन् । गत वर्ष पाँच हजार ६३६ जनालाई नागरिकताको प्रतिलिपी वितरण गरिएकोमा आर्थिक वर्ष २०८१/०८२ मा सात हजार ४९८ जनालाई प्रतिलिपी वितरण गरिएको छ । कोभिडपछि केहि वर्ष नागरिकता र राहदानी बनाउनेहरुको सङ्ख्या बढेपछि पछिल्ला केहि वर्ष घट्दै गएको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिनुभयो ।
पाँच करोड ७८ लाख रावस्व सङ्कलन
जिल्ला प्रशासन कार्यालय गुल्मीले पाँच करोड ७८ लाख ७५ हजार ६८२ रुपियाँ राजस्व सङ्कलन गरेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ वार्षिक प्रगती प्रतिवेदन अनुसार सवैभन्दा धेरै राजश्व राहदानीबाट सङ्कलन भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा राहदानीबाट पाँच करोड ६५ लाख ४३ हजार ५१० रुपियाँ सङ्कलन भएको छ ।
त्यस्तै संस्था दर्ताबाट १५ हजार, नवीकरणबाट सात लाख २९ हजार ८०० रुपियाँ, हातहतियार नवीकरणबाट एक लाख ७५ हजार २५० रुपियाँ, प्रशासनीक दण्डजरिवानाबाट तीन लाख १७ हजार रुपियाँ, परीक्षा शुल्क ४६ हजार ४०० रुपियाँ प्रशासनीक सेवा छ हजार ९२ रुपियाँ, धरौटी सदरस्याहाबाट २२ हजार ६२० रुपियाँ र सरकारी सम्पत्ति बिक्रीबाट २० हजार रुपियाँ राजस्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकीय अधिकृत कमल सेन ओलीले जानकारी दिनुभयो ।