सिँजा समाचारदाता
सिँजा (जुम्ला), साउन ३ गते । जुम्ला चन्दननाथ नगरपालिका–५ मा पाँचतले पक्की भवन निर्माण सकिए पनि सञ्चालनमा आउन सकेको छैन ।
भवन सञ्चालनमा नआउँदा कार्यालयहरूले भाडाकै भवनबाट सेवा दिइरहेका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयलगायत चार वटा कार्यालय एकीकृत भवनबाट सञ्चालन गर्ने भनिएको थियो । साथै भवनको पाँचाैँ तलामा कर्मचारी आवास सञ्चालन गरिने भनिए पनि निर्माण भएको भवन सञ्चालनमा नआएपछि कार्यालयहरूले लाखौँ रकम भाडामै खर्च गरिरहेका छन् ।
करिब चार वर्ष लगाएर निर्माण गरिएको भवन सञ्चालनमा विलम्ब भएको छ । सदरमुकामको सेन्टरमा एकीकृत भवन निर्माण भएकाले भौगोलिक रूपमा अग्लो स्थानमा रहेका नापी र मालपोत कार्यालयलाई एकीकृत भवनमा सार्ने विषयमा छलफल भएको थियो ।
डाँडामा भएको नापी, मालपोत कार्यालयमा वृद्धवृद्धालाई असहज हुने भएकाले एकीकृत भवनमा सार्ने र भाडाका कार्यालयलाई नापी र मालपोतमा सार्ने विषय पनि चर्चामा आएको थियो तर अहिलेसम्म भवन सञ्चालन नहुँदा ती कार्यालय स्थानान्तरणको प्रक्रिया सुरु भएको छैन । एकीकृत भवन सञ्चालनमा नआउँदा भाडामा बसेका कार्यालयहरूलाई सेवा प्रवाहमा पनि समस्या भएको छ । सात करोड २४ लाख ३२ हजार रुपियाँको लागतमा भवन निर्माण गरिएको हो । नौ करोड ६८ लाख रुपियाँको योजना बनाए पनि निर्माण कम्पनीले सात करोड २४ लाख ३२ हजार ६५७ रुपियाँमा ठेक्का लिएको थियो ।
म्याद थपसहित भवन निर्माण सम्पन्न भए पनि निर्माण कम्पनीले बैङ्क ग्यारेन्टी नबुझाउँदा भवन हस्तान्तरण नभएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताउनुभयो ।
भवनको सम्पूर्ण काम सम्पन्न भइसकेको उहाँको भनाइ छ । निर्माण व्यवसायीले बैङ्क ग्यारेन्टी नबुझाउँदा भवन हस्तान्तरण भएको छैन । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगीले एकीकृत भवन सञ्चालनमा नआउँदा कार्यालयको सेवा प्रवाहमा समस्या भएको बताउनुभयो । सङ्घीयताअघि साना घरेलु उद्योग कार्यालय हुँदा आफ्नै भवनमा रहे पनि सङ्घीयता कार्यान्वयनसँगै भाडाको घरबाट कार्यालय सञ्चालन भएका छन् ।