• ३ साउन २०८२, शनिबार

उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाको ८४ प्रतिशत मुद्दा फर्छ्यौट

blog

शेरबहादुर राई
ओखलढुङ्गा, साउन ३ गते ।
उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाले ८४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । अदालतले वार्षिक समिक्षा कार्यक्रम आयोजना गरी जानकारी दिएको हो । वर्षमा लगतको आधारमा ८४ प्रतिशत र लक्ष्यको आधारमा १०३ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको रजिष्टार विष्णु प्रसाद पाण्डेले बताउनुभयो ।

रजिष्टार पाण्डेका अनुसार उच्च अदालत विराटनगर अस्थायी इजलास मातहतका तीन जिल्लामध्ये सबैभन्दा बढी मुद्दा फर्छ्यौट गर्ने खोटाङ जिल्ला अदालत रहेको छ । खोटाङले ८०.३१ प्रतिशत, सोलुखुम्बुले ७२.८७ प्रतिशत र ओखलढुङ्गाले ७०.२५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । मुद्दा फर्छ्यौटमा उत्कृष्ट खोटाङ जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद दाहाललाई सम्मान गरिएको छ ।

त्यस्तै, मिसिल डिजिटलाइजेशनमा उत्कृष्ट कार्यसम्पादन गर्ने सोलुखुम्बुका पासाङ काजी तामाङ, ओखलढुङ्गाका डिठ्ठा चित्र प्रसाद दाहाल, खोटाङका नायब सुब्बा हरि प्रसाद आचार्य, उच्च अदालत ओखलढुङ्गाका सरिता बानिया र नासु शान्ता भट्टराईलाई नगद दुई–दुई हजार रुपैयाँसहित प्रशंसापत्रले सम्मान गरिएको छ ।

सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथि मुख्य न्यायाधीश धीर बहादुर चन्दले सम्मान गर्नुभएको छ । उहाँले स्रोत, साधन र कर्मचारी अभावका बिच पनि प्रभावकारी रुपमा न्याय सम्पादन र सेवा प्रवाह गर्न सफल अदालतहरूको प्रशंसा गर्नुभयो । न्यायाधीश बबिता उप्रेतिले अदालतमा उत्पन्न हुने समस्याहरू समाधान गर्न समन्वयात्मक शैलीमा अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।