• ३ साउन २०८२, शनिबार

स्वस्थ रहन तनाव व्यवस्थापन

blog

मानव समाजको सुरुवातसँगै स्वास्थ्यको अवधारणाको जन्म भएको पाइन्छ । समयको गतिसँगै हुँदै गएको विकासको क्रममा स्वास्थ्यको अवधारणा पनि क्रमिक रूपमा सुधार हुँदै गएको छ । साथै इतिहासमा फर्केर हेर्दा मानव सभ्यताको सुरुवातबाट नै स्वास्थ्यको अवधारणाबारे विकास भएको पाइन्छ । प्राचीनकालमा स्वास्थ्य बारेमा जति सङ्कुचित धारणा थियो वर्तमानमा निकै फराकिलो भइसकेको छ । प्राचीनकालीन जङ्गली अवस्थामा मानिसहरू खान र बाँच्नका लागि मात्र सङ्घर्ष गर्दथे । अन्य कुनै कुराको ज्ञान थिएन । विकासका क्रममा र समयको गतिसँगै चेतनाको वृद्धि हुँदै जाँदा उनीहरूमा खान, लाउन र बाँच्न मात्र जीवनको उद्देश्य नभई सुरक्षित र दीर्घजीवी हुनका लागि स्वास्थ्यता प्राप्त गर्नु पर्छ भन्ने भावनाको विकास हुन थाल्यो । 

ज्ञान, विज्ञान र प्रविधिको विस्फोट हुन थाल्यो तथा चरम चुलीमा पुग्न सफल हुँदै गयो । जसका साथमा नयाँ नयाँ रोग समस्या तथा विकृति पनि मौलाएर आएको प्रस्ट बुझे र अनुभव पनि गरे । यति मात्र होइन बेलाबखत दैवी प्रकोपले सताउँदै आउँदा त्यसलाई पनि स्वीकार्न बाध्य भए । शारीरिक दुर्बलता र रोगबाट मुक्त भएर मात्र स्वस्थ रहन सकिँदैन भन्ने कुरा भन्ने कुरा मानवले बुझे । कुनै पनि व्यक्ति शारीरिक तवरबाट स्वस्थ छ तर ऊ मानसिक सामाजिक रूपमा असमायोजित छ भने त्यस्तो व्यक्तिलाई स्वस्थ व्यक्ति भन्न सकिँदैन । किनकि स्वास्थ्य भनेको त यस्तोे पक्ष हो कि जसले समाज तथा व्यक्ति व्यक्तिबिच राम्रो सम्बन्ध स्थापना गरी उच्च सेवा प्रदान गर्दै समय र परिस्थिति अनुसार आफू पनि उच्च र आनन्दित रही बाँच्न सकोस् । हाम्रो स्वास्थ्यलाई ख्याल गर्न स्वास्थ्यको अवधारणाबारे प्रस्ट शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्यलगायतलाई अन्य धेरै पक्षमा ध्यान दिनु पर्छ ।

साधारण अर्थमा शारीरिक स्वास्थ्य भन्नाले हाम्रो शरीरले शारीरिक तवरले उच्च रूपमा कार्य गर्न सकेको अवस्थालाई मानिन्छ । यसलाई जीवचिकित्सीय दृष्टिकोणले हेर्दा शारीरिक स्वास्थ्य भन्नाले शरीरमा प्रत्येक कोष तथा अङ्गले सुमधुर रूपमा एक आपसमा कार्य गरी उच्चतम कार्य गर्न सकेको अवस्था हो भनी प्रस्ट पारेको पाइन्छ । यसरी हामीले उच्च कार्य गर्न सक्नु भनेको कति हो त भन्ने यकिन गरी परिभाषा दिएको भने छैन । यसरी यकिन नभए पनि हामीले बुझ्न सकिन्छ कि राम्रो व्यवहार, निराशरहित अनुहार, सफा शरीर, स्वस्थ श्वासप्रश्वास, राम्रो निद्रा, उचित भोक, स्वस्थकर जीवनशैली, असल दैनिक तथा क्रियाकलाप, आफ्नो लिङ्ग र उमेर अनुसारको सक्षम व्यवहार तथा कार्य, ज्ञानेन्द्रियहरूको लचकता, सहनशीलता आदि भएको । यसरी हामीले साधारण अर्थमा शारीरिक स्वास्थ्यबारे कुरा गर्‍यौँ । अब यसरी नै मानसिक स्वास्थ्यलाई हेर्दा, सामान्य अर्थमा हामीले मानसिक रोगहरूको अनुपस्थिति भन्ने बुझ्छौँ तर यसलाई यसरी बुझ्नु पर्छ कि जीवनका विविध अनुभवलाई उद्देश्यपूर्ण तथा सही तरिकाले सामना तथा प्रतिक्रिया जनाउने कार्य गर्नु हो । 

मानसिक स्वस्थलाई सार्टारेसका अनुसार ‘मानसिक स्वास्थ्य भन्नाले व्यक्ति र उसको वरिपरिको वातावरणबिचको सन्तुलित अवस्था हो । आफू र अरूबिचको सुमधुर सम्बन्धको अवस्थासँगै सन्तुलित अवस्था हो । आफू र आफ्नो अरूसँगको सुमधुर सम्बन्धको अवस्था साथै वातावरण र समुदायका अन्य मानिस र आफूबिचको वास्तविकताको सहअस्तित्व हो ।’ यस भनाइबाट पनि हामी प्रस्ट हुन सक्छौँ । हाम्रो व्यवहार तथा क्रियाकलापले मानसिक स्वास्थ्यलाई देखाइरहेको हुन्छ । यसमा पनि हामी प्रस्ट हुनु पर्ने कुरा यो छ कि, केही दशकअघिसम्म शरीर र मस्तिष्कलाई फरक फरक रूपमा लिने गरेको थियो । समयको गतिसँगै अध्ययन अनुसन्धान पनि बढ्दै जाँदा विभिन्न अध्ययन अनुसन्धानले मानसिक मात्रले नभई मनोवैज्ञानिक कारणले पनि विभिन्न प्रकारका रोग ल्याएको छ । जस्तै उच्च रक्तचाप, पेस्ट्रिक अल्सर, श्वासप्रश्वास नलीको दम आदि ।

मानसिक सन्तुलन व्यक्ति र समाजबिचको सम्बन्धबाट मात्र नभई व्यक्तिको व्यवहारजन्य मनोवैज्ञानिक अथवा जैविक अक्षयको कारण बिग्रन सक्छ । मानसिक स्वास्थ्य स्वास्थ्यको अभिन्न अङ्ग भए तापनि यसको वैज्ञानिक आधार स्पष्ट हुन नसकेको कारण शारीरिक स्वास्थ्यको अवस्था जसरी मानसिक स्वास्थ्यलाई मापन गर्न सकेको अवस्था छैन तर मनोवैज्ञानिकले धेरै अध्ययन र अनुसन्धानपश्चात् मानसिक रूपमा स्वस्थ व्यक्तिमा हुनुपर्ने केही गुण भने औँल्याएका छन् । जस्तै : मानसिक रूपमा स्वस्थ व्यक्ति आन्तरिक रूपमा द्वन्द्वात्मक अवस्थाबाट मुक्त भएको हुन्छ । यस्तै मानसिक रूपमा स्वस्थ व्यक्ति समाजमा असल रूपमा समायोजन हुन सक्छ साथै आफ्ना कमीकमजोरीलाई सहजै स्वीकार गर्न सक्छ । सानातिना कुरामा नअलमलिईकन अगाडि बढ्न सक्छ । स्वस्थ व्यक्तिले समाजमा आफ्नो अस्तित्व र पहिचान खोज्ने साथै आत्मसम्मानको भावना राख्न सक्छ । स्वस्थ व्यक्ति संवेगात्मक तथा औचित्यपूर्ण हिसाबबाट सन्तुलित भई आत्मनियन्त्रण गर्न सक्छ । मानसिक रूपमा स्वस्थ व्यक्तिले आफ्नो जीवनमा आइपर्र्ने विविध समस्या समाधान गर्ने बौद्धिक क्षमता राख्छ ।

यसरी हामीले शारीरिक र मानसिक स्वास्थ्यबारे बुझ्दै आयौँ, जसमा मनोवैज्ञानिक कारण बुझ्नुपर्ने पनि आवश्यक पायौँ । मानसिक आयाममा संवेगात्मक आयामलाई पनि राखेर अध्ययन गरेको पाइन्छ । तर सन् १९८० को दशकपछि गरिएका अनुसन्धानमा मानसिक स्वास्थ्य र संवेगात्मक स्वास्थ्य निकै भिन्न क्षेत्र हुन् भनी प्रस्ट पारेको पाइन्छ । जस्तै मानसिक स्वास्थ्य जान्नु र संज्ञानसँग सम्बन्धित छ भने संवेगात्मक स्वास्थ्य महसुस गर्नुसँग सम्बन्धित हुन्छ । यसमा हामी यसरी पनि प्रस्ट हुन सक्छौँ कि मानसिक स्वास्थ्य मस्तिष्कसँग सम्बन्धित हुन्छ भने संवेगात्मक स्वास्थ्य मुटुसँग सम्बन्धित हुन्छ । संवेगलाई आन्तरिक शारीरिक शक्तिको रूपमा लिइएको छ ।

संवेगलाई दुई प्रकारमा राखिएको पाइन्छ । नकारात्मक संवेग र सकारात्मक संवेग । नकारात्मक संवेगमा रिस तनाव ईष्र्या, घृणा, डर, त्रास, भय आदि पर्छन् भने सकारात्मक संवेगमा माया, ममता, प्रेम, स्नेह, खुसी आदि पर्छन् । सायद हामीलाई थाहा नै होला नकारात्मक संवेगले परिणाम पनि नकारात्मक दिन्छ भने सकारात्मक संवेगले सकारात्मक परिणाम दिन्छ । यसबाट हामी प्रस्ट हुनु पर्छ कि यस्ता संवेगलाई सन्तुलनमा राखी संवेगात्मक रूपमा स्वस्थ रहन हरदम प्रयास गर्नु पर्छ । प्रयास गर्नु भनेको आफूमा उत्पन्न संवेगहरूको राम्रोसँग व्यवस्थापन गर्नु हो, यसका लागि हामीमा आत्मनियन्त्रणको गुण आवश्यक हुन्छ । किनकि संवेगलाई समयमा नै सही व्यवस्थापन गर्न सकिएन भने तनाव बढेर जान्छ र शारीरिक र मानसिक रूपमा प्रत्यक्षलगायत अप्रत्यक्ष रूपमा बिरामीपन ल्याइदिन्छ । तनावलाई पनि हामीले व्यवस्थापन गर्नु पर्छ । यदि हामीले तनावलाई व्यवस्थापन गर्न सकेनौँ वा प्रयास गरेनौँ भने झनै नराम्रो अवस्था आउन सक्छ । जस्तै खान मन नलाग्ने, आफूलाई निकै कमजोर महसुस हुने, निराश मुद्रामा देखिने, दैनिक कार्य गर्नमा समेत मन नलाग्ने, आत्तिने हतारिने स्वभाव हुने, रक्तचाप बढ्ने, मादक पदार्थ, लागुपदार्थ सेवनतर्फ मन जान पनि सक्ने, विभिन्न रोगले आक्रमण गर्न सक्ने, शरीरमा अम्लीयपन बढ्न सक्ने, पारिवारिक सम्बन्ध बिग्रन सक्ने, निराशा बढेर जान सक्ने आदि । यस्ता लक्षण देखिएमा समयमा नै सही व्यवस्थापन गर्नु पर्छ । अन्यथा यसले विकराल अवस्था सिर्जना गर्न सक्छ । त्यसैले वर्तमान अवस्थामा तनाव व्यवस्थापनबारे जानकार हुनै पर्छ । 

हामीले मनोक्रियाजन्य सिद्धान्तलाई खोतल्ने हो भने प्रस्ट पाउन सकिन्छ । हामीभित्र भएको संवेगात्मक अवस्था असन्तुलन उत्पन्न हुन गयो भने दिमागमा तनाव सिर्जना भई विभिन्न किसिमका शारीरिक गडबडी देखिन थाल्छ । साथै अत्यधिक तनाव बढेमा दिमागमा अवरोध उत्पन्न भई रोग निम्त्याउन थाल्छ । तनावले चिन्ता बढाउँछ, चिन्ताले खाना मन नलाग्ने बनाउँछ, त्यसपश्चात् अम्लपित्त हुन्छ र यसबाट अल्सर हुन गई रक्तस्राव हुन सक्छ । तनावलाई समयमा नै उचित निकास दिनसक्नु पर्छ अन्यथा हामीमा अनेक प्रकारका शारीरिक समस्या तथा असन्तुलन भई विभिन्न रोगले गाँज्न थाल्छ ।

हामीलाई चलाउने आन्तरिक रूपमा रहेको संवेगलाई सन्तुलनमा राख्न अति आवश्यक छ । संवेगलाई हामीले सन्तुलनमा राख्न सकेमा दिमाग र मन पनि सन्तुलित हुन जान्छ । यसको विपरीत संवेग असन्तुलित भएमा दिमागलाई असन्तुलित गरी मस्तिष्क र मनसँग सम्बन्धित रोगलाई निम्त्याइदिन्छ । त्यसैले संवेगात्मक स्वस्थलाई ध्यान दिन उचित तरिकाले संवेगात्मक निकास हुन आवश्यक छ भनी मनोक्रियाजन्य सिद्धान्तले प्रस्ट पारेको पाइन्छ । यस्ता समस्याबाट हामी स्वस्थ रहन प्रयास गर्नै पर्छ, अन्यथा रोगको सिकार हुन पुगिन्छ । त्यसैले हामी प्रस्ट हुनु पर्छ कि चिकित्सक, नर्स तथा अस्पतालको अवस्थामा सुधार गरेर हामी स्वस्थ हुन सकिरहेका छैनौँ । स्वास्थ्यमा प्रभाव पार्ने पक्षलाई गहिरिएर हेर्न अति आवश्यक छ किनकि रोगी व्यक्तिसँग जतिसुकै ज्ञान, सिप, क्षमता, दक्षता भए पनि त्यो व्यर्थ हुन जान्छ । स्वास्थ्य नै व्यक्ति तथा राष्ट्रको सम्पत्ति वा मूल आधार हो । यदि सम्पत्ति नष्ट भयो भने पुनः प्राप्त गर्न सकिन्छ, त्यसले केही नष्ट हुँदैन, शिक्षा नष्ट भयो भने पनि केही मात्र नष्ट हुन्छ तर स्वास्थ्य नै नष्ट भयो भने सबै चिज नष्ट हुन्छ भन्ने भनाइ छ । त्यसैले हामी सबैले आफ्नो स्वास्थ्य बचाउन हरदम प्रयास गर्नु पर्छ । स्वास्थ्य सबैका लागि भन्ने नारा हामीले मनन गर्नु पर्छ ।