• ३ साउन २०८२, शनिबार

पवित्र बुद्धभूमिको पहिचान

blog

लुम्बिनी खतरामुक्त छ । अर्थात् भगवान् बुद्धको जन्मभूमि, लुम्बिनी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सम्भावित खतराको सूचीबाट हटेको छ । यो सुखद समाचार हो । यो खबरको अर्थ, अब उप्रान्त लुम्बिनी जस्तो पवित्र र ऐतिहासिक क्षेत्रको विकास र व्यवस्थापन वैज्ञानिक, जिम्मेवार, जवाफदेही र पारदर्शी मार्गबाट अगाडि बढ्न खोजेको देखिन्छ । पेव रिसर्चका अनुसार हाल विश्वमा ५० करोड बौद्ध छन् । लुम्बिनीको यो खबरले विश्व बौद्ध समाज खुसीले तरङ्गित भएको छ । विश्वको मन आनन्दित राख्ने तथा सबैको अपेक्षा पूरा गर्ने गम्भीर चुनौती पनि खडा भएको छ । विश्वको आस्थाको केन्द्रको व्यवस्थापन गर्न लुम्बिनी विकास कोष सक्षम छ त ? छ छैन चर्चा गर्दै गरौँला तर यो जिम्मेवारी कोषको हो । जसरी भए पनि लुम्बिनीको गरिमा सधैँ उच्च रहनु पर्छ । लुम्बिनी विश्वको ज्योति बन्नु पर्छ । लुम्बिनी सबैको आफ्नो बन्नु पर्छ । यद्यपि लुम्बिनीसम्बन्धी केही भ्रम पनि छन् । ती भ्रमको निवारण प्रमुख हो । 

बुद्ध भगवान् हुन् कि होइनन् ?

बुद्ध धर्मको अन्तिम लक्ष निर्वाण प्राप्त गर्नु हो । दुःख, तृष्णा र अविद्याको चक्रबाट पार पाउनु हो । सांसारिक जन्ममृत्युको चक्रबाट मुक्ति अर्थात् सुखावती भुवन प्राप्त गर्नु हो । सबै जीवनको लक्ष्य सांसारिक मुक्ति (निर्वाण) नै हो । हिन्दु, बौद्ध, क्रिश्चियन, मुस्लिम, याहुदी सबै सम्प्रदायका मानिसको जीवनको लक्ष्य भनेको मुक्ति नै हो । खोज, सत्यचित्त र आनन्दकै हो । हिन्दुहरूले बुद्धलाई नवौँ अवतारको भगवान् विष्णु मान्छन् । महायानी र बज्रयानी बौद्धहरूले पनि भगवान् नै मान्छन् ।

के भगवान् छन् त ? भगवान् बुद्धले नै ‘भगवान् छन्, भगवान् छैनन् र छन् या छैनन् थाहा छैन’ भनेर तीन वटा उत्तर दिनुभएको छ । भगवान् छन् या छैनन् भन्नुभन्दा पनि सत्यको खोज महìवपूर्ण हो । भगवान् छन् अथवा भगवान् छैनन् भनेर आस्थाको बन्दी बनेर बस्नु हुँदैन–सत्यको खोजी गर्नु पर्छ । आस्तिकका लागि बुद्ध भगवान् हुनुहुन्छ भने नास्तिकका लागि बुद्ध बुद्ध मात्रै हुनुहुन्छ । 

हामी नास्तिक, अस्तिक, हिन्दु, क्रिस्चियन, बौद्ध जे भए पनि सत्य एक छ । बुद्ध हुनुहुन्छ । बुद्ध नै हुनुहुन्न भने पनि उहाँ हुनुहुन्छ । मानव स्वतन्त्र छ । बौद्ध धर्म हो । सभ्यता हो । जीवन पद्धति हो । बौद्ध धर्म सत्य विज्ञान हो । सत्यको अनुसन्धानको मार्ग हो । अनुसन्धान वैज्ञानिक हुन्छ, हुनु पर्छ । बुद्धका ज्ञान वैज्ञानिक छन् सर्वव्यापी छन् । सर्वव्यापी चिज कसरी साम्प्रदायिक हुन्छ ? पानी, पृथ्वी, आगो, हावा, आकाश पनि हिन्दुको मुस्लिमको दलितको महिलाको भन्ने हुन्छ र ? हरेक आत्मामा प्रेम तथा शान्ति बसेको हुन्छ । जहाँ प्रेम, श्रद्धा–भक्ति र शान्ति हुन्छ, त्यहाँ बुद्धको बास हुन्छ । यो सत्य विश्वलाई बुझाउनु पर्छ । यही ज्ञानद्वारा बुद्धलाई सर्वव्यापी बनाउनु लुम्बिनी विकास कोषको मुख्य जिम्मेवारी हो । 

बौद्ध धर्म हो कि सम्प्रदाय ?

बौद्ध धर्म हो । जे सत्य छ त्यही धर्म हो । बौद्ध दर्शन– अनित्यतावाद, प्रतित्यसमुत्पाद, शून्यतावाद, अनात्मवाद, तथा अनिश्वरवाद कुनै एउटा समूह वा समुदायको मात्र होइन । सम्पूर्ण चराचर जगत्को कल्याणका लागि सुख शान्ति र समृद्धिका लागि २५ सय वर्षदेखि निरन्तर गरिँदै आएको अनुसन्धान, प्रयास, ध्यान, साधना कुनै एक जात या समुदायको मात्रै हुनै सक्दैन । सब अनित्य छ । सङ्घको शरणमा त जाउ तर यो पनि क्षणभङ्गुर छ । त्यसैले बौद्ध दर्शन विज्ञान हो । ज्ञान विज्ञान सबैको एकै हो । पानीको धर्म भिजाउनु प्यास मेटाउनु हो भने आगोको धर्म जलाउनु, पकाउनु र ताप दिनु हो । सबैले आफ्नो धर्म निभाएकै हुन्छन् । त्यसैले बौद्ध धर्म अन्य सबै सम्प्रदायको मियो हो । सत्य अनुभव जन्य विज्ञान हो । विज्ञान पनि तेरो मेरो उसको कसको हुन्छ ? बुद्ध धर्म मनोविज्ञान हो । बुद्ध धर्म नैतिक विज्ञान हो । ध्यान योग र साधनाको विज्ञान हो । अहिंसा र शान्तिको पर्यायवाची नै बौद्ध मार्ग हो । बौद्ध धर्म कसरी जाति विशेष समुदाय विशेष भयो ? बौद्ध सभ्यता विश्वको सभ्यता हो । हिन्द, बाहुन, दलित, मुस्लिम व्रिmस्चियन सबैको धर्म हो । साम्प्रदायिक साँघुरो घेराबाट बुद्धिजमलाई मुक्त पार्नु र विश्वमा शान्तिको ज्योति छर्नु लुम्बिनी विकास कोषको प्रमुख जिम्मेवारी हो । 

युनेस्को र पुरातत्व 

एउटै लुम्बिनीको विकास र संरक्षण गर्ने दायित्व बोकेका युनेस्को र पुरातìव विभागको रणनीतिक उद्देश्य एउटै हुनु पर्छ । केंजोटेंगे गुरुयोजनाले दिएको दूरदृष्टिसहितको वर्तमान अवस्था र चुनौतीको सामना गर्न सक्ने, लुम्बिनीका सम्पदाको संरक्षण र व्यवस्थापन गर्न सक्षम सशक्त एकीकृत व्यवस्थापन संरचना आजको आवश्यकता हो । लुम्बिनीमा के निर्माण गर्ने, के नगर्ने ? भन्ने विषय गुरुयोजनामै प्रकाशित हुनु पर्छ । लुम्बिनी विश्वको नै पुराताìिवक सम्पदा हो । यसको व्यवस्थापन विश्वस्तरको हुनु पर्छ । यहाँको सुरक्षा र सरसफाइ अन्तर्राष्ट्रिय स्तरको हुनु पर्छ । लुम्बिनी आएपछि यात्रीको मन ढुक्क हुनु पर्छ । शान्ति प्राप्त हुनु पर्छ । लुम्बिनी विकास कोषलाई स्पष्ट योजना र व्यवस्थापनको फ्रेमवर्क दिनु पर्छ । विकास निर्माण र ठेक्का पट्टाको जिम्मेवारी स्थानीय सरकारको हो । नक्सा, योजना र बजेट स्थानीय सरकारलाई दिएर काम गराउनु पर्छ । स्थानीय सरकारको काम कोषले गर्नु हुँदैन । 

संयुक्त सुरक्षा फोर्स 

नेपाल सरकार रक्षा मन्त्रालय, तथा गृह मन्त्रालयको संयुक्त सुरक्षा दस्ता (नेपाली सेना, सशस्त्र, जनपद, तथा पर्यटन प्रहरी) निर्माण गरी परिचालन गर्नु पर्छ । सुरक्षा गम्भीर विषय हो । देशको विश्वको सम्पदा सामान्य सेक्युरिटी सप्लायर्स कम्पनीले गर्ने विषय नै होइन । संस्कृति पर्यटन मन्त्रालय तथा कोषको आज्ञा अनुमति खोज्ने होइन, रक्षा मन्त्रालय तथा गृह मन्त्रालय गम्भीर भएर शान्ति सुरक्षाको विभागीय नैतिक जिम्मेवारी वहन गर्नु पर्छ । विश्वको सबैभन्दा सुरक्षित उत्कृष्ट तीर्थस्थल लुम्बिनी हो, हुनु पर्छ । सम्पूर्ण शान्तिप्रेमी मानव जातिको कल्याण गर्ने कर्ममा सुरक्षा प्रदान गर्न पाउनु सुरक्षा सङ्गठनको गर्वको विषय हो । यस्ता विश्व सम्पदाको संरक्षण र सुरक्षा एक विशिष्ट कला हो । यो सुरक्षाको छुट्टै विधा हो । त्यसैले सुरक्षा विज्ञको ध्यान आकृष्ट हुनु जरुरी छ ।

लुम्बिनी विकास कोष 

लुम्बिनी विकास कोष एक स्वायत्त (लुम्बिनी विकास कोष ऐन, २०४२) संस्था हो । ऐन अत्यन्तै पुरानो भएको छ । नेपालमा हाल ८८४ जना कानुन निर्माता छन् । कानुन मन्त्रालय, सिङ्गो न्यायपालिका र नेपाल कानुन आयोग पनि छ । यति ठुलो संरचनाले वर्षको एउटा कानुन बनाएर पास गर्न सक्दैनन् । नेपालमा सङ्घीयता आएपछि हजारौँ कानुन बन्नुपर्ने छ तर सभासद अन्य विषय वस्तुमा मात्रै व्यस्त छन् । नयाँ ऐन तुरुन्तै जारी गर्नु पर्छ । दुःखको कुरा यो ऐन आउन अझै बर्सौं लाग्न सक्छ । हामीमा बर्सौं कुर्ने धैर्यता छैन । नेतृत्वमा यो चेतना छैन । 

लुम्बिनीको आम्दानी खर्चको पारदर्शी प्रतिवेदन महालेखामार्फत अर्थ मन्त्रालयको हो । विश्वको पवित्र सम्पदास्थलको सञ्चालन गर्दा कस्तो आर्थिक व्यवस्थापन गर्नु पर्ला ? विश्वबाट कस्तो, कति दान चन्दा प्राप्त होला ? त्यसलाई कसरी परिचालन गर्नु पर्ला ? यो जिम्मेवारी अर्थ मन्त्रालय कै हो । अर्थ मन्त्रालय गम्भीर हुनै पर्छ । 

लुम्बिनी विकास कोष पवित्र संस्था हो । विश्वभर बौद्धधर्म तथा दर्शनको अध्ययन, अनुसन्धान, प्रचारप्रसार र शान्ति स्थापना गर्न गठित सङ्घ हो । बुद्धले भन्नुभएको ‘संघम् शरणं गच्छामी’ को संघको स्वरूप हो । दुःखमा परेका सम्पूर्ण जगत्को कल्याण गर्ने, शील, समाधि, र प्रज्ञा स्थापना गराउने महाविद्यालय नै हो । यस्तो पवित्र स्थल कार्यकर्ता पाल्ने सङ्गठन हुनु हुँदैन । सही–मान्छे सही–समयमा सही–स्थानमा हुनु पर्छ । नेपाल सरकारको तलब खाने सम्पूर्ण कर्मचारीको विज्ञापन, भर्ना तथा नियुक्ति, तालिम तथा वृद्धिविकास र निवृत्तिभरणको विभागीय नैतिक जिम्मेवारी लोक सेवा आयोगको हो । विश्वसम्पदा संरक्षण, संवर्धन, र व्यवस्थापन गर्न कुन स्तरको, कुन क्षमता भएको, कस्तो मानव संसाधन आवश्यकता पर्छ ? कसरी व्यवस्थापन गर्नु पर्छ ? यी सबै विषयको अध्ययन अनुसन्धान गर्दै लोक सेवा आफैँ अगाडि बढ्नु पर्छ किनकि ऊ संवैधानिक आयोग हो । 

विश्वको सम्पदा, भगवान् बुद्धको जन्मस्थल, पवित्र लुम्बिनीको भविष्य लुम्बिनी विकास कोष, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हातमा छ । जेरुसेलेम अनि मक्कामदिना अर्थात् विश्वका प्रमुख धर्मावलम्बी क्रिश्चियन र मुस्लिमको प्रमुख तीर्थ स्थल जस्तै लुम्बिनीलाई सम्पूर्ण शान्तिवादीको महत्वपूर्ण तीर्थस्थल बनाउनु पर्छ । लुम्बिनी विकास कोषलाई सहयोग गर्ने धेरै हात छन् । धेरै मन्त्रालय विभाग यससँग सम्बन्धित छन् । धेरै अन्तर्राष्ट्रिय सङ्घ–संस्था पनि छन् । सबैलाई समन्वय गरेर कोष अगाडि बढ्नु पर्छ । भौतिक निर्माणमा होइन आदि भौतिक–आध्यात्मिक चेतनाको विकासमा प्रत्यक्ष ध्यान दिनु पर्छ । बौद्ध धर्म कुनै सानो सम्प्रदाय (रिलिजन) होइन । यो धर्म हो, विज्ञान हो र सभ्यता हो । त्यसैले संवैधानिक धर्मनिरपेक्षता यहाँ आकृष्ट हुन सक्दैन । यस्तै सानातिना समस्या समाधान गर्दै अगाडि बढ्ने हो भने बुद्धको ज्ञानको ज्योतिले नेपाल, नेपाली तथा विश्वले सुख शान्ति र समृद्धि हासिल गर्छ ।