अस्मिता पोखरेल
धादिङबेंसी, साउन ३ गते । धादिङ जिल्लामा हालसम्म ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विकास कार्यालय धादिङका अनुसार साउन १ गतेसम्म जिल्लामा ६० प्रतिशत रोपाइँ सकिएको हो ।
जिल्लाको ११ हजार एक सय ५९ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये ६ हजार ६ सय ९५ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ ।
पछिल्लो साता वर्षा कम भएकाले टारी खेतहरूमा अझै पनि रोपाइ बाँकी रहेको कार्यालयका सूचना अधिकारी जयराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च पहाडी क्षेत्रका खेतहरूमा रोपाइ सकिएको भए पनि बेसी र पानीको अधिक आवश्यक पर्ने खेतहरूमा रोपाइ जारी छ ।
“साउन महिनाभर रोपाइको कार्य चल्ने भएकाले बाँकी क्षेत्रमा पनि रोपाइँ हुने अपेक्षा गरिएको छ,” अधिकारीले भन्नुभयो ।
जिल्लामा पहिले उन्नत जातका सावित्रि, मकवानपुरे १, सुख्खा १, २, ३ र खुमल ४, ६, ७, मसिनो लगायतका धान प्रचलनमा थिए । तर पछिल्लो समय यी जातहरूलाई हाइब्रिड धानले प्रतिस्थापन गर्दै लगेको अधिकारीको भनाइ छ । रैथाने धानहरू अहिले कम मात्रमा रोपिन्छ र हाइब्रिड जातप्रति कृषकको आकर्षण बढेको देखिन्छ ।