रामकृष्ण बोहरा
बागलुङ, साउन २ गते । अव्यवस्थित तरिकाले सडकछेउमा गरिने सवारी पार्किङले बागलुङमा दुर्घटनाको जोखिम बढाएको छ । मध्यपहाडी लोकमार्ग छेउछाउमा शहरीकरण बढ्दै गएपनि सवारी पार्किङको व्यवस्था नहुँदा दुर्घटनाको जोखिम बढाएको हो ।
मध्यपहाडी लोकमार्गमा पर्ने बडिगाडको हाँडिखोला, खर्वाङ, खौलार तथा भिमगिठे व्यस्त बजार हुन् । व्यस्त बजारमै दुईतर्फी सवारी पार्किङ हुँदा साँघुरो बाटोमा नियमित सवारी संचालनमा कठिनाई हुनुका साथै दुर्घटनाका घटना बढेका हुन् ।
बडिगाड गाउँपालिका–७ भिमगिठेमा गत असार १३ गते शुक्रबार बुर्तिवाङबाट बुटवल जाँदै गरेको बस र गलकोटबाट बोवाङ जाँदै गरेको पिकअप जिप एकआपसमा ठोकिए । पाँच जना घाइते भए । उनीहरु सामान्य घाइते मात्रै भएकाले मानविय क्षति भने भएन । उक्त घटनामा बसमा ९ र जिपमा ७ जना यात्रु सवार थिए ।
यस्तै भिमगिठेमै गतवर्ष माघ १६ गते पनि दुई जिप एकआपसमा ठोकिए । सडकमै ट्रक रोकेर एक पसलमा सामान अनलोड गर्दै थिए मजदुर । घटनामा तीन जना घाइते भए । एकै स्थानमा एकै प्रकारका घटना पाँच महिनाको छोटो समयमै घटेका हुन् । दुर्घटनाको मुख्य कारण व्यस्त बजारमा गरिने अव्यवस्थित सवारी पार्किङ देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायब निरीक्षक गंगाराम विक बताउनुहुन्छ ।
आर्थिक वर्ष २०८१/०८२ मा दर्जनौं सवारी दुर्घटना एकआपसमा ठोकिएरै भएको भए पनि असार २६ गते सम्मको प्रहरी अभिलेख अनुसार जटिल दुईवटा सवारी दुर्घटना भएका छन् । जसमा दुई घाइते भएको प्रहरी नायब निरीक्षक विकले जानकारी दिनुभयो । ‘‘सडक किनारलाई सवारी पार्किङ स्थल बनाउँदा धेरै दुर्घटना भएका छन्’’ विकले भन्नुभयो ।
पश्चिम बागलुङसँगै रुकुम, जाजरकोट, डोल्पालगायतका जिल्लाको नाकाकै रुपमा रहेको खर्वाङ बजार मात्रै हैन बडिगाडको कुनै पनि स्थानमा जिप तथा बसपार्क छैन । बढ्दो सहरीकरणसँगै सवारी साधनको चाप बढ्दै गएको र शहरीकरण भएका स्थानमा उचित पार्किङ नहुँदा समस्या हुने गरेको प्रनानि विकले बताउनुभयो ।
गएको आर्थिक वर्षमा जिल्लामा सानाठुला गरी भएका सवारी दुर्घटनामध्ये ट्राफिक प्रहरीको तथ्याङ्कमा २५ दुर्घटनाको मात्रै रेकर्ड छ । दर्जनौ सवारी दुर्घटना हुने गरेपनि सामान्य घाइते र तत्कालै उपचारबाट डिस्चार्ज हुने घाइतेको विवरण प्रहरीले राख्दैन । तरपनि यस वर्ष घटेका २५ दुर्घटनामा २२ जनाले ज्यान गुमाएका छन् । जसमा १५ जना गम्भिर घाइते भएका थिए भने सामान्य घाइतेको सङ्ख्या २७ रहेको थियो । १५ हजार ५ सय ८३ सवारी कार्वाहीबाट ट्राफिकले एक करोड २९ लाख २७ हजार पाँच सय रुपियाँ सङ्कलन गरेको छ ।