गोरखापत्र अनलाइन
काठमाडौँ, साउन १ गते । साउन, प्रकृति नै हरियाली हुने महिना । यो महिनाको सङ्क्रान्तिदेखि सूर्य दक्षिणायन हुन्छ भनिन्छ । सूर्य दक्षिणायन हुँदा रात लामो र दिन छोटो हुने क्रम सुरु हुन्छ । यस महिनालाई शिवजीको महिना पनि भनिन्छ र शिवको पूजा आराधना गरिन्छ ।
साउन महिना हरेक वर्ष आउँछ र भगवानको पूजाआजा सधैँ गरिन्छ । हिन्दु धर्म अनुसार साउने सोमबारको विशेष महत्त्व छ। यस दिन ब्रत बस्ने, एक छाक मात्रै खाने, शिवजीको पूजा आराधना गर्ने गरिन्छ ।
यसरी पूजा आराधना गर्दा शिवजीले प्रसन्न भएर सन्तान, धन, विद्या दिनुहुन्छ भन्ने विश्वास रहिआएको छ । मानिसहरू ब्रत बस्दा शुद्ध हुने, शिवजीलाई जल चढाउने, चोखो खाने गर्नाले त्यसै पनि स्वस्थ र लाभदायक हुने नै भयो । महिलाले ब्रत बस्ने, पूजाआजा गर्ने र रातो, हरियो, पहेँलो रङका चुरापोते र तिउरीको पातबाट रङ निकालेर हात रङ्गाउने चलन परम्परादेखिकै हो तर यसमा हाल आएर परिमार्जित भएको मात्र हो ।
पछिल्लो समय हरियो चुरा र मेहेन्दीमा सजिने युवतीको सङ्ख्या निकै बढेको छ। विदेशीले समेत हरियो, पहेँलो चुरापोते, कपडा र मेहेन्दी लगाउन थालेका छन् ।