काठमाडौँ, साउन १ गते । युवा तथा खेलकुद मन्त्रालयको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा राष्ट्रिय खेल सङ्घ र महासङ्घका पदाधिकारीसँगको अन्तर्क्रिया कार्यक्रम सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ ।
एक दिने कार्यक्रममा खेलकुद मन्त्रालयका सहसचिव सुवासचन्द्र सिवाकोटीले कानुनी, प्रशासनिक, आर्थिक र विविध पक्षमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सानुराजा केसीले राष्ट्रिय खेल सङ्घका आर्थिक श्रोत, अन्तर्राष्ट्रिय सङ्घ र महासङ्घबाट प्राप्त सहयोग, प्रायोजन, टिकट बिक्री, प्रशिक्षण शुल्क, खेलाडी ग्रेडिङ र लाइसेन्स विवरण, भौतिक संरचना तथा बजेट बारे कार्यपत्र पेस गर्नुभएको थियो ।
खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालको खेलकुद गुणात्मक सुधारको बाटोमा गइरहेको बताउँदै मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको प्रशिक्षणमा रहेका खेलाडीको सुविधा वृद्धिमा पहल गरिने बताउनुभयो । उहाँले निजी क्षेत्रसँग सहकार्य गरी खेलकुदलाई अगाडि बढाउने बताउदै सुशासन, पारदर्शीता र सुदृढीकरणमा जोड दिनुभयो।
राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले कार्यक्रममा सहभागीको सुझाव सकरात्मक रहेको बताउदै निकै महत्त्वपूर्ण सुझावका लागि धन्यवाद दिनुभयो ।
खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले समस्याको समाधानका लागि पनि समय समयमा यस्तो कार्यक्रम जरुरी भएको बताउनुभयो ।
राखेप कार्यकारी समिति र बोर्ड सदस्य, खेल सङ्घका पदाधिकारीलगायतको उपस्थितिमा भएको एकदिने कार्यक्रममा सहभागीले १०औँ राष्ट्रिय खेलकुद, खेलाडीले पाउने पुरस्कार, कर्मचारीको दरबन्दी, खेल सामाग्री, अन्तर्राष्ट्रिय एक्सपोजर, लेखा परिक्षण, पेश्की, बेरुजु, प्रशिक्षणस्थल, बजेट, खेल सामाग्रीलगायतका विषयमा आ–आफ्नो धारणा राखेपका थिए ।