• १ साउन २०८२, बिहिबार

करेन्ट लागेर एकको मृत्यु

blog

करेन्ट प्रवाह भएको ट्रक । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, साउन १ गते । सर्लाहीको लालबन्दी नगरपालिका-१, नवलपुरमा बिहीबार बिहान करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

रौतहटबाट न्यू माँ राजदेवी खाद्य उद्योग नवलपुरमा धानको भुस लिन आएको ना. ६ ख. ७५५० नम्बरको ट्रकलाई उद्योगभित्र लैजाने बेला ११ हजार भोल्टको तार पन्छाउने क्रममा ट्रकमा सवार मजदुरलाई करेन्ट लागेको हो । 

ट्रकमाथि चढेर तार पन्छाउँदा करेन्ट प्रवाह भएर रौतहटको वृन्दावन नगरपालिका–७, बस्ने ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो । 

ट्रकका सहचालक रहेका पासवानलाई उपचारका लागि तत्कालै नमूना अस्पताल हरिवन लैजाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक जोहारीले बताउनुभयो । 

पासवानले ११ हजार भोल्टको तार छुन पुग्दा ट्रकमै करेन्ट प्रवाह भएर ट्रकमा कार्यरत मजदुर वृन्दावन नगरपालिका–७, रौतहटकै २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान घाइते हुनुभएको छ । घाइते पासवान द्वयको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको लालबन्दी प्रहरीका प्रमुख जोहारीले बताउनुभयाे । 

जोहारीका अनुसार ट्रक चालक पर्साको वीरगन्ज महानगरपालिका–३०, का ३९ वर्षीय शेख लाल महम्मद भने सकुसल रहनुभएको छ । ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।