• ६ जेठ २०८१, आइतबार

मुना मासिकको सम्पादकमा थापा नियुक्त

blog

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी मुना मासिकका सम्पादक थापालाई बधाई दिनुहुँदै । साथमा महाप्रबन्धक लालबहादुर ऐरी र गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई । तस्विर : सागर बस्नेत

गोरखापत्र अनलाइन

काठमाडौं, असार ५ गते । गोरखापत्र संस्थानमा नेपाली पत्रकारिता समूहमा कार्यरत नायब कार्यकारी सम्पादक भक्तबहादुर थापा संस्थानको मासिक प्रकाशन मुनाको निमित्त सम्पादकमा नियुक्त हुनुभएको छ । संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले असार ६ गते सोमबारदेखि लागू हुनेगरी थापालाई सो पदमा नियुक्त गर्नुभएको हो ।

सो अवसरमा कार्यकारी अध्यक्ष सुवेदीले मुना मासिकलाई प्रविधियुक्त बनाउन भूमिका खेल्न सम्पादक थापालाई सुझाव दिनुभयो । अहिलेका बालबालिका प्रविधिमैत्री हुँदैगएकाले मुना मासिकको विषयवस्तु पनि सोहीअनुसार आउनुपर्ने उहाँको भनाइ छ । 

यसैगरी, संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले थापालाई बधाई दिनुहुँदै मुना पत्रिकालाई स्तरीय बनाउने गरी भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गर्नुभयो । यस्तै, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईले सम्पादक थापालाई बधाई दिनुहुँदै मासिक पत्रिका मुनालाई थप पठनीय बनाउन सुझाव दिनुभयो । 

निमित्त सम्पादक थापाले मुना मासिकलाई आफ्नो कार्यकालमा बालबालिकामैत्री, प्रविधियुक्त तथा बाल मनोविज्ञानलाई परिस्कृत गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले मुना  बालबालिकाबीच लोकप्रिय पत्रिका भएकाले त्यसको गरिमालाई थप बढाउने गरी काम गर्ने बताउनुभयो । 


वि.सं. २०२३ चैत २१ गते भोजपुरमा जन्मनुभएका थापाले गोरखापत्र दैनिकमा २६ वर्ष सेवा गरिसक्नुभएको छ । यसअघि दैनिकको रात्रीकालीन, दिवा समूह, लेखरचना समूह तथा संस्थानको प्रदेश कार्यालय विराटनगर र कोहलपुर कार्यालयमा सम्पादक भएर उहाँले जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । 

पत्रकारिता विषयमा स्नातकोत्तर गर्नुभएका थापा वन वातावरण, स्वास्थ्य बिटमा रहेर समाचार प्रकाशन गरेवापत पुरस्कृत तथा सम्मानित पनि हुनुभएको छ । बधाई कार्यक्रममा दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलियालगायतको सहभागिता थियो ।