• ३२ असार २०८२, बुधबार

राखेपलाई चीनको खेल सामाग्री सहयोग

blog

सामाग्री हस्तान्तरण कार्यक्रममा मिसन– २०२६ का खेलाडीलगायत सामूहिक तस्वीर खिचाउँदै । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, असार ३१ गते । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप मङ्गलबार हस्तान्तरण गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गर्नुभयो । 

करिब ८५ लाख रुपियाँ बराबरको विभिन्न ३४ प्रकारका सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका उपाध्यक्ष ध्रुब आचार्यले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिदै सामाग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

सदस्य सचिव घिसिङले नेपाल र चीनबिच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको बताउँदै हरेक वर्ष सहयोगले निरन्तरता पाउने प्रतिबद्धता पाएको बताउनुभयो । 

घिसिङले २०औँ एसियाली खेलकुद आउन १३ महिना मात्र बाँकी रहेकाले दृढ संकल्पकासाथ प्रशिक्षण अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले अबको दुई हप्ताको अवधिमा मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीको शारीरिक र खेलगत अवस्थाको परिक्षण गरिने बताउँदै त्यसपछि खेल सङ्घसँग समन्वय गरी प्रशिक्षणलाई अगाडि बढाइने बताउनुभयो । 

डेपुटी चिफ दि मिसन वाङले सहयोगले नेपाली खेलकुदको विकास थोरै भएपनि टेवा पुग्ने बताउँदै विगतमा पनि खेल क्षेत्रमा सहयोग गरेको स्मरण गर्नुभयो । 

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहताले चीन सरकारले विगतमा पनि सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा चिनियाँ दूतावासका कन्सुल वाङ दोङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य अञ्जन धमला, प्रकाशकुमार कुसारी र हिमालकुमार श्रेष्ठ, विभिन्न विभागका प्रमुख, मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।