• ३१ असार २०८२, मङ्गलबार

भिरबाट लडेर एकको मृत्यु

blog

शेरबहादुर सार्की 

बाजुरा, असार ३१ गते । बाजुरामा भिरबाट लडेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–३, कटीगाउँका अन्दाजी २९ वर्षीय वीरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

स्थानीयका अनुसार उहाँ आज बिहान गाउँनजिकैको जङ्गलमा घाँस काट्न गएको र घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हुनसक्छ । 

बोहराको मृत्यु भएको खबर प्रहरीलाई जानकारी भएसँगै प्रहरी घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकबाल हवारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बोहरा आज बिहान घर नजिकैको जङ्गलमा घाँस काट्न गएका थिए । लामो समयसम्म घर नफर्किएपछि खोजी गर्दा उहाँलाई स्थानीयले मृत अवस्थामा फेला पारेका हुन् ।”

प्रहरीको टोली त्यहाँ पुगेपछि मात्र उहाँलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याउने वा त्यतै मुचुल्का बनाएर उहाँको दाहसंस्कार गर्ने भन्ने कुरा प्रहरी त्यहाँ पुगेपछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हवारीले बताउनुभयो ।