• ३२ असार २०८२, बुधबार

बागमतीको दस जिल्लामा सिसिटिभी जडान

blog

आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने ‘सिसिटिभी निगरानी प्रणालीको’ उदघाटन गर्नुहुँदै । तस्बिरः स्मिता अर्जेल

स्मिता अर्जेल 

मकवानपुरगढी, असार ३१ गते । बागमती प्रदेश सरकारले सुरक्षा निगरानी बढाउनुका साथै सार्वजनिक सुरक्षालाई सुदृढीकरणका निम्ति १० जिल्लामा सिसिटिभी जडान गरी सञ्चालनमा ल्याएको छ । 

प्रदेश सरकारको विनियोजित बजेटबाट १० जिल्लाको ६४ स्थानमा १ सय २० वटा क्यामरा जडान गरिएको हो । मङ्गलबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले एक कार्यक्रमबिच ‘सिसिटिभी निगरानी प्रणालीको’ उदघाटन गर्नुभयो । 

कुल २ करोड ८४ लाख ११ हजार ७ सय ३४ रुपियाँ लागतमा जडान गरिएका १२० वटा सिसिटिभी क्यामेरा मङ्गलरबाट औपचारिक रूपमा सञ्चालनमा आएका छन् । 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आयोजित उदघाटनलाई सम्बोधन गर्नुहुँदै कानुनमन्त्री लामिछानेले क्यामेरा जडान पश्चात्  प्रदेशको शान्ति सुरक्षा थप सुव्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रदेश प्रहरी कार्यालयहरूका लागि नयाँ भवन निर्माण गर्न, भएका भवनहरूको संरचना पुनः सुधार गर्न र थप क्यामेरा जडान गर्न आगामी आर्थिक वर्षमा ३ करोड बजेट विनियोजन भएको समेत उहाँले जानकारी दिनुभयो । 

जडान गरिएका क्यामेरालाई ३८ वटा प्रहरी युनिटबाट नियमित रूपमा निगरानी गर्नेगरी व्यवस्था मिलाइएको छ । जडान गरिएका सम्पूर्ण उपकरणको वारेन्टी अवधि दुई वर्षको रहेको छ । 

कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख अरुण पौडेलले प्रदेशमा अझै २ सय ५० थान क्यामेराको आवश्यक्ता रहेको बताउनुभयो । आगामी वर्ष थप एक सय वटा क्यामेरा जडान गर्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो । 

अन्तर प्रादेशिक सिमाना तथा राष्ट्रिय राजमार्गका संवेदनशील ३ स्थानहरू चितवनको नारायणगढ, सिन्धुलीको भीमान, मकवानपुरको रातोमाटे लगायतका क्षेत्रहरुमा अत्याधुनिक ‘बिएलएच क्यामेरो’ र ‘रडार प्रणालीे’ समेत जडान गरिएको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार क्यामेरामा कम्तिमा ९० दिनको डाटा भण्डारण क्षमता भएको र विद्युत् अवरोध हुँदा पनि क्यामेरा सिस्टम बन्द नहुने गरी पावर व्याकअपको व्यवस्था गरिएको छ ।