काठमाडौँ, असार ३१ गते । उमा युरोपियन च्याम्पियनसिपका पदक विजेता नेपाली उमा कुङफु खेलाडी भुपेन्द्र गुरुङ र सुदेन गुरुङलाई नेपाल उमा कुङफु सङ्घले स्वागत गरेको छ ।
खेलाडीद्वयलाई नेपाल उमा कुङफु सङ्घका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष रमेश महर्जन, सदस्य शेरबहादुर गुरुङ, खेलाडी मनाङ गुरुङलगायतले स्वागत गर्नुभयो ।
जुन २९ तारिखमा बेलायतको चेल्टेनह्याममा भएको प्रतियोगितामा भुपेन्द्रले तीन स्वर्ण र सुदेनले एक रजत जित्नुभएको थियो ।
भुूपेन्द्रले ट्रेडिसनल चाइनिज फममा २६.७, ट्रेडिसनल वेपनमा २७ र ट्रेडिसनल क्रिएटिभ फममा २६.८ अङ्क जोड्दै नेपाललाई स्वर्ण दिलाउनुभएको थियो । यस्तै सुदेनले ट्रेडिसनल चाइनिज फर्ममा २६.१ स्कोसहित रजत जित्नुभएको थियो ।
प्रतियोगितामा नेपालसहित जर्मनी, स्पेन, वेल्स, फ्रान्स, भारत, स्विट्जरल्यान्ड, नेडरल्यान्ड, कोस्टारिका, इस्टोनियालयागत राष्ट्रबाट चार सय १५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।