गोविन्द शर्मा
बाँके, असार ३१ गते। बाँकेको कोहलपुर नक्कली नोट र लागुऔषधसहित एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दिपक पातलीले एक हजारका ५१ वटा नक्कली नोट र करिब १९ किलो अफिमसहित कोहलपुरबाट मनबहादुर सहकारीलाई पक्राउ गरिएको हो।
कोहलपुरबाट सञ्चालित जनगर्जन नेटवर्क प्रालिमा कार्यरत पत्रकार भएको प्रहरीले जनाएको छ। सहकारी कार्यालयबाटै पक्राउ परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी लक्ष्मी खनालले बरामद गरेको रकम र नक्कली नोट सहित सहकारीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको जानकारी दिनुभयो।
सुर्खेतमा केही दिन अघि प्रहरीले लागु औषध र नक्कली नोट बरामद गरेको थियो। सोही घटनामा पक्राउ परेका व्यक्तिको सूचनाका आधारमा थप अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले कोहलपुरबाट सहकारीलाई पक्राउ गरेको हो।