• ७ जेठ २०८१, सोमबार

अपाङ्गता भएका दम्पतीको चुलो चिसो

blog

भोक र दुधे बालक स्याहार्ने चिन्ताले पिरोलिएका अपाङ्गता भएका दम्पती । तस्बिर : विजयकुमार साह

ढल्केबर, असार ५ गते  । धनुषाको सबैला नगरपालिका–१२, उतिमपुरका एक अपाङ्गता भएका दम्पती भोक र दुधे बालक स्याहार्ने चिन्ताले पिरोलिएका छन् । ४४ वर्षीय इन्दल गडेरी र २५ वर्षीया कविताकुमारी पाल अपाङ्गता भएका दम्पती हुन् । इन्दलको खुट्टा अपाङ्गता छ भने कविता आँखाले देख्नुहुन्न । उहाँहरूको तीन महिनाको दुधे बालक छ । यो दम्पतीको घरमा चुलो छ, पकाउने भाँडाकुँडा छन् तर मुस्किलले कहिलेकाहीँ खाना पाक्छ । कसैले खाद्यान्न सहयोग गरे चुलो बल्छ नभए भोको पेट निदाउनुपर्ने बाध्यता छ । 

खाद्यान्न अभावले एक छाक मात्र खाएर भोक टार्ने बानी बसालिसकेका अपाङ्गता भएका दम्पतीले दुधे बालकलाई पनि भोकै राख्ने गर्नुभएको छ । मैले पेटभरी खान पाए पो बालकलाई दुध पुग्छ, आमा कविताले भन्नुभयो । दुध नपुगेकै कारण बच्चा कुपोषित हुँदै गएको छ । जन्मेदेखि बच्चालाई कहिल्यै तेल मालिससमेत गर्न नसकेको उहाँले सुनाउनुभयो । 

“हामी काम गर्न सक्दैनौँ । माग्न पनि जाँदैनौँ । श्रीमान्ले काम गर्छु भन्दा पनि अपाङ्गता भएकै कारण कसैले काममा राख्दैनन् । यसले गर्दा घरको आर्थिक अवस्था दयनीय बनेको छ । तीन महिनाअघि सबैलाको एक समाजिक संस्थाले एक बोरा चामल दिएको थियो त्यो चामल पनि सकिएपछि अहिले खानपिनको ठूलै समस्या छ, कविताले भन्नुभयो । 

माइती पक्षले भोग चलन गर्दै आएको ऐलानी जग्गाबाट पाँच धुर जग्गा बसोबासका निम्ति कवितालाई दिइएको छ । सोही जग्गामा सानो झुपडी बनाएर उहाँहरू बस्दै आउनुभएको छ । यो दम्पतीका तीन सन्तान छन् । छ वर्षकी जेठी छोरी, तीन वर्षको छोरा र तीन महिनाको दुधे बालक । 

जन्मदै अन्धोपनको सिकार हुनुभएकी कविताको विवाह सात वर्षअघि सबैला नगरपालिका–१, मुसहर टोल बस्ने अपाङ्गता  भएका इन्दलसँग भएको थियो । ससुरा पक्ष सम्पत्तिविहीन रहेको र माइती पक्षको पनि आर्थिक अवस्था कमजोर रहेका कारण आफन्तबाट पनि कुनै किसिमको सहयोग पाइरहनुभएको छैन । अपाङ्गताको हैसियतले स्थानीय तहबाट पाउनुपर्ने सेवा सुविधासमेत पाउनुभएको छैन । अपाङ्गता कार्ड नबनेका कारण उहाँहरू स्थानीय तहबाट पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित हुनुभएको छ ।