• १९ असार २०८२, बिहिबार

खाँदबारी नगर अस्पतालमा साउनदेखि नियमित सेवा सञ्चालन हुने

blog

खाँदबारी नगरपालिका–३, मानेभन्ज्याङमा सञ्चालनमा आएको १५ शय्या क्षमताको खाँदबारी नगर अस्पताल । तस्बिर : सुजन बज्राचार्य

सुजन बज्राचार्य
सङ्खुवासभा, असार १९ गते ।
खाँदबारी नगरपालिका–३, मानेभन्ज्याङमा १५ शय्या क्षमताको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको छ । पांमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी खाँदबारी नगरपालिकाले ‘एक स्थानीय तह, एक अस्पताल’ भन्ने सरकारी नीति कार्यान्वयनका रूपमा नगर अस्पताल घोषणा गरिएको हो ।

तीन करोड ७३ लाख ५१ हजार रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएपछि एक कार्यक्रमबिच कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र कार्की, नगरप्रमुख महेश थपलिया, प्रजिअ दिव्यराज पोखरेल लगायतले अस्पतालको उद्घाटन गर्नुभएको हो ।

नगर प्रमुख महेश थपलियाले आगामी साउन महिनादेखि अस्पतालमा मेडिकल अधिकृतसहितका चिकित्सक राखी सेवा प्रवाह गरिने जानकारी दिनुभयो । उहाँले अस्पताल सञ्चालनका लागि आवश्यक खर्चको व्यवस्थापन नगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस अस्पतालबाट विशेषगरी खाँदबारीका वडा नम्बर ३, ४, ५, ६, १० र ११ का बासिन्दालाई उपचारमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्नुहुदै पूर्वस्वास्थ्यमन्त्री तथा सङ्खुवासभाका प्रदेश सांसद राजेन्द्र कार्कीले अस्पतालका लागि आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विशेषज्ञ स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच हुनुपर्नेमा जोड दिँदै अस्पतालको निरन्तर सेवाका लागि सामग्रीदेखि कर्मचारी व्यवस्थापनसम्मका लागि प्रदेश सरकारसँग माग गर्ने बताउनुभयो ।