• १८ असार २०८२, बुधबार

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते, एक गम्भीर

blog

पहिरो क्षति पुगेको स्थानीय हस्तबहादुर कटुवालको घर । तस्बिर सौजन्य : मौसम सेलिङ लिम्बू

साहारा लिम्बू
फुङलिङ, असार १८ गते ।
ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते हुनुभएको छ । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँका ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते हुनुभएको छ भने अन्य चार जनाको अवस्था सामान्य रहेको छ ।

कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेर घर पुरिँदा परिवारका अन्य चार जना घाइते भएको आङखोपका वडाध्यक्ष रत्नबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएराति करिब १ बजे पहिरोले घर पुरिएको हो । पहिरोले एक्कासी घर पुरिएपछि छेउमा रहेको मतानमा सुतेका छोराबुहारीले आमाबुवाको तत्काल उद्धार गर्नुभएको थियो । पहिरोका कारण हस्तबहादुर, छोरा जगत कटुवाल, बुहारी सरस्वता कटुवाल र छोरी सम्झाना कटुवाल सामान्य घाइते हुनुभएको छ ।

घाइते ठगमायालाई गम्भीर चोट लागेकाले थप उपचारका लागि एम्बुलेन्स झिकाइएको वडाध्यक्ष खत्रीले बताउनुभयो । राति वर्षा नभए पनि सिँचाइका लागि ल्याइएको कुलो थुनिएर पानी खेतबारीमा खसेर पहिरो झरेको स्थानीयको भनाइ छ । घटनास्थलमा अहिले साब्लाखु प्रहरी चौकीको टोलीले अनुसन्धान तथा क्षतिको विवरण सङ्कलन गर्ने कार्य सुरु गरेको छ ।